‘गगन थापा पक्राउको हल्ला बालेन वरपरका गिरोहले चलाए’- कांग्रेस नेता चटौत


काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य जनक चटौतले ‘इनम सापकोटा प्रकरण’ सरकारले आफ्ना असफलता ढाकछोप गर्न रचना गरेको प्रोपोगाण्डा मात्रै भएको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता चटौतले उक्त प्रकरणसँग कांग्रेसको कुनै सम्बन्ध नरहेको स्पष्ट पारे । “इनम सापकोटा प्रकरण बालेन सरकारले चलाएको प्रोपोगाण्डा हो,” उनले भने, “कांग्रेसका साधारण कार्यकर्तादेखि कुनै पनि केन्द्रीय सदस्य र शीर्ष नेतासम्म कसैले पनि इनम सापकोटालाई चिन्दैनन् । विना तथ्य र विना प्रमाण कांग्रेस नेताहरूको नाम जोडिएको छ ।”

कांग्रेस महाधिवेशनपछि सुशासनको मार्गचित्रमा थप सशक्त भएर अघि बढेको दाबी गर्दै उनले पार्टी सभापति गगन थापा पक्राउ पर्ने हल्ला बालेन शाहकै वरिपरिका गिरोहले फैलाएको टिप्पणी गरे ।

सरकारको कूटनीतिक अडान र आचरणमाथि प्रश्न उठाउँदै उनले थपे, “राजदूतहरूलाई सामूहिक भेट मात्र दिने दाबी गर्ने बालेनले आज भारतीय विदेश सचिव विक्रम मिस्रीलाई बोलाएर भेटेका छन्, उनको अडान कहाँ छ ? बालेन सरकार वैधानिक भए पनि दिनप्रतिदिन जनविश्वास र वैधता गुमाइरहेको छ ।”

उनले बालेन नेतृत्वको सरकार निरंकुश र अलोकतान्त्रिक बाटोमा अघि बढेको आरोप लगाए । “अलोकतान्त्रिक सरकारहरू आफ्ना कमजोरी ढाकछोप गर्न र जनताको ध्यान विषयान्तर गर्न खप्पिस हुन्छन्,” चटौतले भने, “महँगी नियन्त्रण, बाढीपीडित र सुुकुम्बासी व्यवस्थापन गर्न नसकेपछि विषयान्तर गर्नकै लागि सरकारले इनम प्रकरण अघि सारेको हो । प्रधानमन्त्री बालेन जनप्रतिनिधिहरूको सर्वोच्च थलो संसद्प्रति समेत उत्तरदायी छैनन् ।”