ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिस्रीबिच भेटवार्ता


काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबिच भेटवार्ता भएको छ। 

भेटमा नेपाल–भारत ऊर्जा सहकार्य, विद्युत् व्यापार र जलविद्युत् आयोजना विकासका विषयमा महत्त्वपूर्ण छलफल भएको छ।

भेटका क्रममा ऊर्जामन्त्री श्रेष्ठले नेपालबाट भारततर्फ हुँदै आएको विद्युत् निर्यातको सीमा थप विस्तार गर्न भारतीय पक्षसँग आग्रह गरेको छ। मन्त्री श्रेष्ठका अनुसार बाढी तथा विपद् व्यवस्थापनमा सहयोग पुग्ने गरी मौसमसम्बन्धी सूचना तथा तथ्याङ्क आदानप्रदानमा दुई देशबिचको सहकार्य बढाउने विषयमा पनि नेपालले प्रस्ताव राखेको छ।

त्यस्तै, छलफलमा नेपालमा निर्माणाधीन र अघि बढाउन लागिएका ठुला जलविद्युत् तथा बहुउद्देश्यीय आयोजनाहरूको प्रगतिका विषयमा समीक्षा भएको थियो। 

विशेषगरी पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, अरुण तेस्रो, तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत् आयोजनाको पछिल्लो अवस्थाबारे दुवै पक्षबिच छलफल भएको थियो।

नेपालको जलविद्युत् सम्भावनालाई क्षेत्रीय ऊर्जा व्यापार र आर्थिक समृद्धिसँग जोड्न द्विपक्षीय सहकार्यलाई परिणाममुखी बनाउनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिएका थिए।

भेटमा दुवै पक्षबिच उठेका विषयहरूलाई निरन्तर संवाद र समन्वयमार्फत अघि बढाउने सहमति जुटेको छ ।

नेपालको ऊर्जा सम्भावना, क्षेत्रीय सहकार्य र समृद्धिको यात्रालाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठले बताए।