वडा अधिवेशनमै पराजित पाण्डेलाई केन्द्रीय सदस्यको उपहार: राजनीतिक योगदान कि पहुँचको भरमा पद ?


काठमाडौँ ।  नेपाली कांग्रेसकी नेतृ बिष्णु देवि पाण्डेलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने चर्चासँगै उनको राजनीतिक योगदान, नेतृत्वसँगको निकटता, सम्पत्तिको स्रोत र परिवारसँग जोडिएको ठगी प्रकरणले गम्भीर प्रश्न उठाएको छ।

नेपाली कांग्रेसको १३औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनमा पराजित पाण्डे १४औँ महाधिवेशन तथा विशेष महाधिवेशनको सन्दर्भमा अर्जुननरसिंह केसीको पहलमा केन्द्रीय सदस्य बनेको स्राेतकाे दाबी छ । १५औँ महाधिवेशनका लागि प्रतिनिधि बन्ने प्रतिस्पर्धामा समेत पराजित भएकी पाण्डेलाई फेरि सभापति गगन थापाको नेतृत्वमा केन्द्रीय सदस्यमा मनोनयन गर्ने चर्चा चलेको छ।

पाण्डे अर्जुननरसिंह केसी र गगन थापासँग निकट सम्बन्धमा रहेको चर्चा राजनीतिक वृत्तमा हुने गरेको छ। यही निकटताका आधारमा उनलाई पटक-पटक केन्द्रीय तहमा अवसर मिलेको हो कि भन्ने प्रश्न कांग्रेसभित्रै बहस उठिरहेको छ।

निर्वाचनमा पटक-पटक पराजित भए पनि केन्द्रीय पदमा पुग्ने तयारीले कांग्रेसभित्र आन्तरिक लोकतन्त्र र कार्यकर्ताको मतको मूल्यबारे बहस सुरु भएको छ। संगठनमा योगदान र जनमतभन्दा नेतासँगको पहुँच नै पद प्राप्तिको आधार बनेको हो भन्ने प्रश्न नेतृत्वमाथि उठेको छ।

करोडौँको सम्पत्ति, स्रोत कहाँबाट?

पाण्डेको नाममा नवलपरासीमा बिघौँ जग्गाजमिन र भव्य बंगला, काठमाडौंको धुम्बाराहीमा करिब डेढ रोपनी क्षेत्रफलमा फैलिएको घर तथा करोडौँ मूल्यका दुईवटा टोयोटा गाडी रहेको दाबी गरिएको छ।

यति ठूलो सम्पत्ति कुन स्रोतबाट आर्जन भयो? सम्पत्तिको स्वामित्व कसको नाममा छ? आम्दानी र सम्पत्तिबीचको सम्बन्ध के छ? यी प्रश्नको स्पष्ट जवाफ आवश्यक छ।
पाण्डेका श्रीमान् भरत चौलागाईं इजरायल पठाउने भन्दै रकम ठगी गरेको आरोपमा पीडितको पैसा फिर्ता गर्न नसकेपछि हिरासतमा छन् ।

पीडितले आफ्नो रकम फिर्ता पाउन नसकेको अवस्थामा परिवारको नाममा रहेको भनिएको ठूलो सम्पत्तिको स्रोतबारे थप प्रश्न उठेको छ। सम्पत्तिको स्रोत र पीडितको रकम फिर्ता गर्ने विषयबीच कुनै सम्बन्ध छ कि छैन भन्नेबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने माग उठिरहेको छ।

यस प्रकरणमा पाण्डेको भूमिका र संलग्नताबारे पनि प्रश्न उठाइएको छ। तर उनको संलग्नता पुष्टि गर्ने प्रमाण सार्वजनिक नभएकाले यस विषयमा निष्पक्ष अनुसन्धान र सम्बन्धित पक्षको जवाफ आवश्यक छ।


वडा अधिवेशनदेखि महाधिवेशन प्रतिनिधिसम्म पराजित व्यक्तिलाई फेरि केन्द्रीय सदस्यमा मनोनयन गर्ने आधार के हो? अर्जुननरसिंह केसी र गगन थापासँगको निकटताले पाण्डेको राजनीतिक यात्रामा कस्तो भूमिका खेलेको छ? पाण्डेको नाममा रहेको भनिएको सम्पत्तिको स्रोत के हो? हिरासतमा रहेका भरत चौलागाईं प्रकरणका पीडितले रकम कहिले फिर्ता पाउँछन्?

पार्टी नेतृत्वले मनोनयनको आधार स्पष्ट पार्नुपर्छ। पाण्डेले सम्पत्तिको स्रोतबारे जवाफ दिनुपर्छ। सम्बन्धित निकायले ठगी प्रकरण र सम्पत्तिको स्रोतबारे आवश्यक अनुसन्धान जरुरी देखिएकाे छ।