सुर्खेत । कर्णाली प्रदेशमा स्याउ विकास बोर्ड स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गरिने भएको छ।
शुक्रबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले स्याउ विकास बोर्ड स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै अर्थमन्त्री टेकराज पछाईले विधेयक प्रदेश सभामा पेस गर्ने प्रक्रिया अघि बढेको बताए।
कर्णालीमा स्याउ विकास बोर्ड गठन गर्ने प्रक्रिया विगत केही वर्षदेखि अघि बढाइएको थियो। विशेषगरी जुम्लालगायतका जिल्लामा उत्पादन हुने स्याउको उत्पादन वृद्धि, बजारीकरण, प्रशोधन तथा ब्रान्डिङलाई व्यवस्थित गर्ने उद्देश्यले बोर्ड स्थापना गर्न लागिएको हो।
कर्णालीको स्याउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने, किसानलाई उत्पादनदेखि बजारसम्म आवश्यक सहयोग उपलब्ध गराउने र स्याउ खेतीलाई व्यावसायिक बनाउने विषयलाई विधेयकमा समेटिएको बताइएको छ।




प्रतिक्रिया