रुस–युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत


वासिङ्टन, २० कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुनसक्ने बताएका छन् । उनले प्रस्तावित सम्झौतामा युक्रेनसँगै सम्पूर्ण युरोपसमेत सहभागी हुनसक्ने सङ्केत गरेका छन् ।

बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यो सम्झौतामा युक्रेनभन्दा बाहिरका पक्षसमेत संलग्न हुने बताए । उनले भने, “यो एउटा ठूलो सम्झौता हुनेछ र यसमा युक्रेनभन्दा धेरै पक्ष सहभागी हुनेछन् । यसले सम्पूर्ण युरोपलाई समेत समेट्न सक्छ । यो ठूलो र सुन्दर सम्झौता हुनेछ तथा सबै पक्ष उत्साहित हुनेछन् ।”

यद्यपि, उनले प्रस्तावित सम्झौताका मुख्य प्रावधान, सहभागी हुने देशहरू तथा रुस र युक्रेनले गर्नुपर्ने सम्भावित सहमतिबारे विस्तृत जानकारी दिएनन् । बिहीबार वासिङ्टन भ्रमणमा रहेका युक्रेनी प्रतिनिधिहरूसँग आफूले भेट नगरेको पनि उनले स्वीकार गरे ।

रुसी विशेष दूत दिमित्रीभ र युक्रेनी अधिकारीहरूले रुसी नियन्त्रणमा रहेको युक्रेनी सहर ओलेस्कीमा छ दिनसम्म युद्धविराम कायम गराउन सहयोग पु¥याएको भन्दै प्रथम महिला मेलानिया ट्रम्पले आयोजना गरेको ह्वाइट हाउसको कार्यक्रममा सहभागिता जनाएका थिए । उक्त युद्धविरामका कारण सयौँ सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सम्भव भएको थियो ।

ट्रम्प र दिमित्रीभबीच भएको छुट्टै भेटवार्ताले युक्रेनको प्रत्यक्ष सहभागिताबिनै अमेरिका र रुसले व्यापक युरोपेली सुरक्षा व्यवस्थाबारे छलफल गरिरहेका छन् कि भन्ने प्रश्न उठाएको द वासिङ्टन पोस्ट ले जनाएको छ ।

यसैबीच, बिहीबार नै राष्ट्रपति ट्रम्पका विशेष दूत तथा ज्वाइँ जारेड कुशनरले ब्रसेल्समा युक्रेनी, नेटो र युरोपेली अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । उनीहरूबीच युक्रेनका लागि सुरक्षा प्रत्याभूति र समग्र युरोपेली सुरक्षा संरचनाबारे छलफल भएको थियो ।

नयाँ कूटनीतिक पहल नोभेम्बर १० र ११ मा संयुक्त अरब इमिरेट्सको अबु धाबीमा अमेरिका मध्यस्थतामा हुने रुस र युक्रेनका प्रतिनिधिबीचको वार्ताको पूर्वसन्ध्यामा अघि बढेको हो ।

कूटनीतिक प्रयास तीव्र भए पनि क्षेत्रीय नियन्त्रण र सुरक्षा प्रत्याभूतिजस्ता प्रमुख विषयमा रुस र युक्रेनबीच मतभेद कायमै छन् । यसैबीच, दुवै पक्षले हवाई तथा ड्रोन आक्रमण जारी राखेकाले युद्ध अन्त्यको सम्भावना अझै अनिश्चित देखिएको छ । रासस