चितवनमा बलेरो जीप दुर्घटना, २५ जना घाइते


मकवानपुर । चितवनको राप्ती नगरपालिका–५ सिपडाँडामा बलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार अपराह्न साढे ४ बजे भण्डाराबाट थाकलटारतर्फ जाँदै गरेको बा.प्र.०१–०३५ च २८८६ नम्बरको बलेरो जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

सिपडाँडास्थित भित्री सडकखण्डबाट जीप करिब ५० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला जीपमा २५ जना सवार थिए। उनीहरू सबै घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। घाइते सबैको अवस्था मध्यम रहेको बताइएको छ। उनीहरूको नाम र ठेगाना भने खुल्न बाँकी छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।