काठमाडौं २४ घण्टा खुलाउने तयारी



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमात्र नभई समग्र काठमाडौंलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले शुक्रबार आयोजना गरेको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तर्क्रियामा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले काठमाडौंलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको बताए ।

उनले ठमेललाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकार लागिरहेको उल्लेख गर्दै गैरकानुनी गतिविधि नियन्त्रण गर्न घरधनी र व्यवसायीको सहयोग आवश्यक रहेको बताए ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सार्वजनिक शौचालय, अव्यवस्थित पार्किङ, फोहोर, ट्राफिक जाम र मगन्तेलगायत समस्या समाधान गर्न सम्बन्धित निकायसँग सहकार्य भइरहेको बताए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ठमेललाई सवारीसाधन निषेधित क्षेत्र बनाउन स्थानीय र व्यवसायी तयार भए ट्राफिक प्रहरीले सहयोग गर्ने बताए । जथाभावी पार्किङ गर्नेलाई कारबाही गरिने उनले बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले ठमेललाई सुरक्षित बनाउन घरधनी र व्यवसायीको सहयोग आवश्यक रहेको बताए ।