कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मर्यादित र सामाजिक सद्भाव कायम गरी चाडपर्व मनाउन आग्रह गरेको छ।
प्रशासनले सार्वजनिक सूचना जारी गर्दै जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले देउसीभैलो, नाचगानलगायत सांस्कृतिक कार्यक्रम बिहान ७ बजेदेखि राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द जोशीद्वारा जारी सूचनामा कानुन विपरीत जुवातास, लङ्गुरबुर्जा खेल्ने तथा खेलाउने, भुइँचम्पा, पटका र आतिसबाजी जस्ता विस्फोटक पदार्थको आयात, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न भनिएको छ।
त्यसैगरी अखाद्य रङ मिसाइएका तथा गुणस्तरहीन मिठाइलगायत वस्तुको बिक्रीवितरण र उपभोग नगर्न पनि आग्रह गरिएको छ। प्रशासनले म्याद गुज्रेका भाइ मसला, प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारण नगर्न र कानुनले आयात तथा प्रयोग गर्न निषेध गरेका वस्तुको बिक्री वितरण एवं प्रयोग नगर्न अनुरोध गरेको छ।
निर्देशन विपरीतका गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ। प्रशासनले चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र सभ्य रुपमा मनाउँदै सामाजिक सद्भाव कायम राख्न जिल्लावासीलाई आग्रह गरेको छ।




प्रतिक्रिया