तरकारीको बेर्ना बिक्री गरेर मनग्य आम्दानी गर्दै राजकुमार


कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् । उनले तरकारीको बेर्नासँगै गहुँ र धानको बीउ पनि बिक्री गरेर आम्दानी गर्दै आएका हुन् ।

परम्परागत रूपमा गहुँ र धानखेतीसँगै उनले विभिन्न जातका तरकारीको बेर्ना उत्पादनलाई आम्दानीको स्रोत बनाएका छन् । उनले प्याज, टमाटर, बन्दा, काउली, खुर्सानीलगायत विभिन्न प्रजातिका तरकारीको बेर्ना उत्पादन गरेर बिक्री गर्दै आएका छन् ।

“गहुँ र धान खेती बुबाको पालादेखि नै गर्दै आएको हुँ, तरकारीको बेर्ना उत्पादनमा लागेको पनि २० वर्ष भयो,” रानाले भने, “बेर्ना बिक्रीबाट राम्रो आम्दानी हुन्छ । अरू आम्दानीको स्रोत छैन, यसैबाट घरखर्च चलेको छ ।” उनले दुई बिघा आफ्नै जग्गा र दुई बिघा अधियाँमा गहुँ र धानखेती गर्दै आएका छन् ।

गहुँ र धानको बीउ बिक्रीबाट मात्रै वार्षिक चार लाख रुपैयाँ आम्दानी गर्दै आएको रानाले बताए । “गहुँ र धानको बीउ बिक्रीबाट वार्षिक दुई/दुई लाख आम्दानी हुन्छ”, रानाले भने, “२० देखि २५ हजारको बेर्ना बिक्री गर्छु ।” उनले यस वर्ष प्याजको बेर्ना मात्रै २५ हजार रुपैयाँको बिक्री गरेको जानकारी दिए । यसबाहेक अन्य बन्दा, काउलीलगायत तरकारीको बेर्ना बिक्रीबाट एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ ।

बेर्ना बिक्रीबाट राम्रो आम्दानी हुने बताउँदै उनले स्वदेशमा कृषि कर्मबाट पनि सहज जीविकोपार्जन गर्न सकिने सन्देश युवालाई दिएका छन् । “तरकारीको बेर्ना बिक्रीबाट घरखर्च चल्छ । प्रतिबोट दुईदेखि तीन रुपैयाँसम्म बिक्री गर्छु”, उनले भने, “बिक्रीका लागि समस्या छैन, गाउँघरमा किन्ने आउनुहुन्छ, बजार जानु पर्दैन ।”

गहुँ र धानको बीउ गाउँमै बिक्री हुने गरेको रानाको भनाइ छ । “घर नजिकै उदयदेव सहकारीको बीउ प्रशोधन केन्द्र छ, त्यहाँ गहुँ र धानको बीउ बिक्री गर्छु”, उनले भने, “मेरो कुनै रोजगारी छैन । खेती र तरकारीको बेर्ना बिक्री गरेर अर्को पटक खेती गर्नमा लगानी गर्छु । छोराछोरीको पढाइ र घरखर्च सबै चलेको छ ।”

उनको व्यवसायले गाउँमा तरकारी खेती गर्ने अन्य किसानलाई पनि सहज बनाएको छ । विभिन्न जातका तरकारीका बेर्ना गाउँमै उपलब्ध हुने भएपछि तरकारी खेती गर्ने किसानलाई सहज भएको छ । रासस