काठमाडौं, २४ कात्तिक । देशभर स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभाका गरी १०७ पद रिक्त रहेका छन्। निर्वाचन आयोगका अनुसार स्थानीय तहमा ८५, प्रदेशसभामा २० र राष्ट्रिय सभामा दुई पद खाली छन्।
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन स्थानीय तहका मेयर, गाउँपालिका अध्यक्ष तथा प्रदेशसभा सदस्यहरूले राजीनामा दिएपछि ती पद रिक्त भएका हुन्।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन अब छ महिना मात्रै बाँकी रहेकाले त्यहाँ उपनिर्वाचनको सम्भावना न्यून छ। तर प्रदेशसभाका रिक्त पदमा भने कानुनअनुसार अझै उपनिर्वाचन गर्न सकिने अवस्था छ।
राष्ट्रिय सभाका सदस्य बलदेव बोहराको निधन र राष्ट्रपतिबाट मनोनीत सदस्यको कार्यकाल समाप्त भएपछि दुई पद खाली भएका हुन्। कानुनले रिक्त पदमा उपनिर्वाचन तथा पदपूर्तिको व्यवस्था गरे पनि सरकारले अहिलेसम्म प्रक्रिया अघि बढाएको छैन।
निर्वाचन आयोगले भने सरकारले निर्णय गरे जुनसुकै तहको उपनिर्वाचन गराउन आफू तयार रहेको जनाएको छ।




प्रतिक्रिया