काठमाडौं । राजनीतिक विश्लेषक तथा बौद्ध दर्शनका अध्येता बुद्ध छिरिङ मोक्तानले प्रधानमन्त्री बालेन शाहसहित नयाँ पुस्ताका नेताहरू देश बनाउन नआएको आरोप लगाएका छन् ।
आज रिपोर्ट क्लबको साक्षात्कारमा बोल्दै उनले नयाँ पुस्ताका नेताहरू देश निर्माणका लागि मात्रै राजनीतिमा आएको नभई उनीहरूमार्फत अन्य शक्तिले आफ्नो स्वार्थ पूरा गर्न खोजेको टिप्पणी गरेका हुन्।
‘बालेन शाहहरू देश बनाउन आएको होइन, यिनीहरूले सेवा चाहिँ अर्कैको लागि गर्नुपर्नेछ। त्यो सेवा गरेको दिन नेपाल चाहिँ युक्रेन हुन्छ,’ मोक्तानले भने।
उनले राजनीति, व्यवसाय, पैसा र शक्तिबीचको सम्बन्ध व्याख्या गर्दै शक्ति प्रत्यक्ष रूपमा नभई विभिन्न माध्यम र व्यक्तिहरूमार्फत सञ्चालन हुने धारणा राखे।
‘पावर चाहिँ बिजनेस, मनी एन्ड पावर। चाहे त्यो पोलिटिकल पावर होस् वा फिजिकल्ली वा अन्य खालको शक्ति होस्। तिनीहरूको ट्रान्समिसन, सञ्चार र बहाव चाहिँ कन्डक्टर्सहरूबाट मात्रै हुन्छ। त्यो नेचुरल ल हो,’ उनले भने।
सूर्यको किरणसमेत प्रत्यक्ष रूपमा नआउने उदाहरण दिँदै उनले प्रत्येक शक्ति केन्द्रले आफ्नो प्रभाव विस्तार गर्न छुट्टै शक्ति मध्यस्थकर्ता अर्थात् ‘पावर ब्रोकर’ तयार गर्ने बताए।
‘प्रत्येक शक्ति केन्द्रहरूले आफ्नै किसिमका ब्रोकरहरू खडा गर्छ। त्यो ब्रोकरलाई निरपेक्ष गरेर तपाईंले शक्तिको केन्द्र परिकल्पना गर्नुभयो भने त्यो अप्राकृतिक हुन्छ,’ उनले भने।
प्रधानमन्त्री बालेन शाहको वरिपरि पनि धेरै पावर ब्रोकर रहेको उनको दाबी छ। उनले इनम सापकोटालाई बालेनको सबैभन्दा ठूलो शक्ति मध्यस्थकर्ता नभएको टिप्पणी गर्दै कुमार व्यञ्जनकारलाई सबैभन्दा प्रभावशाली पावर ब्रोकरका रूपमा चित्रण गरे।
‘सबैभन्दा बिगेस्ट पावर ब्रोकर अफ बालेन इज नट इनम सापकोटा। त्यो त हाम्रो कुमार व्यञ्जनकार हो। सबैभन्दा मस्ट इफेक्टिभ र त्यसपछिका असिम शाहहरू हुन्। हिजो जो देउसीमा नाचे नि, हिजो देउसीमा नाचेको सबै पावर ब्रोकर टिम हो,’ उनले भने।
मोक्तानले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको वरिपरि पनि एक तहको शक्ति मध्यस्थकर्ता समूह रहेको र त्यस्ता व्यक्तिहरू शक्ति जहाँ हुन्छ त्यतैतर्फ आकर्षित हुने टिप्पणी गरे।
‘हिजो पूर्वप्रधानमन्त्री केपी ओलीको वरिपरि एउटा लेभलको पावर ब्रोकर हुन्थ्यो, अहिले पनि छ। कुनै बालेनजीतिर पनि गयो होला,’ उनले भने।
शक्तिको केन्द्र कमजोर हुँदै गएपछि त्यससँग जोडिएका मध्यस्थकर्ताहरूले साथ छाड्ने प्रवृत्ति रहेको उनको तर्क थियो।
‘पावर ब्रोकर जहाँ पावर देख्दैन, त्यहाँबाट हिँडिहाल्छ। प्राण गएपछि जुम्राले लास छोडेर हिँडेजसरी पावर ब्रोकरहरू पनि छोडेर हिँडिहाल्छन्,’ मोक्तानले भने।




प्रतिक्रिया