भक्तपुर । नेपाल संवत् ११४७ को अवसरमा सभामुख डोलप्रसाद अर्याल र गृहमन्त्री सुदन गुरुङले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको सालिकमा माल्यार्पण गरेका छन्।
राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको शुभकामना तथा माल्यार्पण कार्यक्रममा सभामुख अर्याल, गृहमन्त्री गुरुङ, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए। उनीहरूले भक्तपुरको शङ्खधर चोकमा रहेको साख्वाःको सालिकमा माल्यार्पण गर्दै उनको योगदानको स्मरण गरेका थिए।
कार्यक्रममा सभामुख अर्यालले शङ्खधर साख्वाःले आफ्नो व्यक्तिगत सम्पत्ति जनताको हितमा समर्पण गर्दै ऋणमा डुबेका सर्वसाधारणलाई ऋणमुक्त गराएको ऐतिहासिक योगदानको चर्चा गरे। उनले साख्वाःको परोपकार र सामाजिक न्यायको भावनाबाट प्रेरणा लिएर देश र जनताको हितमा काम गर्नुपर्ने बताए।
त्यसैगरी मुख्यमन्त्री थापामगरले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम अघि बढाएको जानकारी दिए।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति मधु आचार्य, सांसद मदनकृष्ण श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।




प्रतिक्रिया