काठमाडौं । भूराजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता चन्दलाल गिरिले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा नयाँ सम्झौता गर्नुभन्दा विगतमा भएका सम्झौता तथा सहमति कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै गिरिले नेपाल–भारतबीच विगतमा भएका सम्झौताहरूको समीक्षा गर्दै कार्यान्वयनको अवस्था सुनिश्चित गर्नु भ्रमणको मुख्य उपलब्धि हुनुपर्ने बताए।
‘भारत भ्रमणमा जाँदा सम्झौता गर्ने मुख्य कुरा होइन, हिजो भएका कुराहरूको समीक्षा गरेर कार्यान्वयनमा जानुपर्छ,’ उनले भने।
नेपालले भारतीय कम्पनीहरूसँग करिब ६ हजार मेगावाट विद्युत् उत्पादनसँग सम्बन्धित सम्झौता गरेको भए पनि अरुण तेस्रोबाहेक अन्य आयोजना कार्यान्वयनमा आउन नसकेको उनले बताए ।
गिरिले नेपाल–भारतबीच लामो समयदेखि कायम सीमा विवादलाई पनि महत्वपूर्ण विषयका रूपमा उठाए। सीमा विवादलाई वार्ता तथा स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नुपर्ने उनको भनाइ थियो।
उनले बदलिँदो विश्व राजनीतिक परिस्थितिअनुसार नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिए।
‘अहिलेको परिवर्तित विश्वमा सम्बन्धलाई कसरी अगाडि लैजाने भनेर हामीले बुझ्नुपर्छ। किनभने भारत पनि एउटा विश्व महाशक्तिका रूपमा आइरहेको छ। विश्व व्यवस्था परिवर्तित हुँदै गर्दा एसियामा शक्ति केन्द्रित हुन खोज्दैछ। एसियामा शक्ति आउँदाखेरि भारत र चीन नै शक्तिका रूपमा आउने हुन्,’ उनले भने।




प्रतिक्रिया