पृथ्वी राजमार्गदेखि कालीगण्डकी करिडोरसम्म यातायात ठप्प


काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा विपद्का घटनाले यातायात सेवा प्रभावित बनेको हो ।

नेपाल प्रहरीका अनुसार चितवन, गोरखा र गुल्मी जिल्लाका विभिन्न सडक खण्डमा पहिरो तथा बाढीका कारण यातायात आवागमन पूर्ण रूपमा बन्द भएको छ ।

बागमती प्रदेशअन्तर्गत चितवन जिल्लामा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । कात्तिक २३ गते बिहान ५ बजे इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा पहिरो खसेपछि राजमार्गमा यातायात सञ्चालन हुन सकेको छैन ।

त्यस्तै, गण्डकी प्रदेशको गोरखा जिल्लामा बाढीका कारण सोतीदेखि मान्बु जाने पुल अवरुद्ध भएको छ । कात्तिक २५ गते बिहान ५ः३० बजे आरुघाट गाउँपालिका–२ र ३ को क्षेत्रमा बाढीले पुलमा असर पुर्‍याएपछि उक्त मार्ग बन्द भएको नेपाल प्रहरीले जनाएको छ ।

यता लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा पनि पहिरोले सडक यातायात ठप्प पारेको छ । कात्तिक २२ गते राति १०ः१५ बजे कालिगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

तीनवटै प्रदेशका विभिन्न स्थानमा सडक तथा पुल अवरुद्ध हुँदा यात्रु र सवारीसाधन प्रभावित भएका छन् । अवरुद्ध सडक खुलाउने तथा यातायात सञ्चालनमा ल्याउने प्रयासबारे सम्बन्धित निकायबाट थप जानकारी आउन बाँकी छ ।

यात्रु तथा सवारी चालकलाई यात्रा गर्नुअघि सम्बन्धित निकायसँग सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ ।