७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुईवटा रोमाञ्चक खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलमा चार टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।
अंकतालिकामा काठमाडौं दोस्रो स्थानमा छ । पाँच खेल खेलेको काठमाडौंले चार खेलमा जित र एक खेलमा हार बेहोरेको छ । समान चार खेल जितेको सुदूरपश्चिम भने ६ खेलबाट दुई हारसहित तेस्रो स्थानमा छ ।
आजको खेल जित्दै दुवै टोली अंकतालिकामा आफ्नो स्थिति थप बलियो बनाउने लक्ष्यमा हुनेछन् ।
त्यस्तै, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्नेछन् ।
अंकतालिकामा चितवन पाँचौँ स्थानमा छ । पाँच खेल खेलेको चितवनले दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । वर्षाका कारण एक खेल रद्द भएपछि चितवनले अंक बाँडेको थियो ।
यता जनकपुर बोल्ट्स छैटौँ स्थानमा छ । ६ खेल खेलेको जनकपुरले दुई खेलमा जित निकाल्दा चार खेलमा पराजय बेहोरेको छ ।
आजको खेल जनकपुरका लागि अंकतालिकामा सुधार गर्ने अवसर हुनेछ भने चितवन पनि जित निकाल्दै आफ्नो स्थिति मजबुत बनाउन चाहन्छ ।




प्रतिक्रिया