लेकसाइडमा ‘अपरेसन सभ्यता’ : ४४ जना कारबाहीमा



पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको ‘अपरेसन सभ्यता’अन्तर्गत बुधबारदेखि शुक्रबारसम्म (कात्तिक २५–२७)मा अवैध गतिविधिमा संलग्न ४४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । 

मादकपदार्थ सेवन गरी झैझगडा गर्ने २८, मादकपदार्थ सेवन गरी होहल्ला गर्ने ६, प्रहरीसँग झैझगडा र वादविवाद गर्ने पाँच, हतियार लिई हिँड्ने दुई, महिला तथा बालबालिकामाथि दुर्व्यवहार गर्ने दुई र झन्डीबुर्जा खेलाउने एकजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामजी देवकोटाका अनुसार, सोही अवधिमा ८१ सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ । तीमध्ये ५७ सवारीसाधनका चालकलाई मादकपदार्थ सेवन गरेको अवस्थामा र एकजनालाई अरू ट्राफिक कारबाही गरिएको उनले जानकारी दिए ।

२३ सवारीसाधनलाई वडा प्रहरी कार्यालय बैदाममा राखी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको छ । पोखरा महानगरपालिका–६, लेकसाइड क्षेत्रमा पछिल्लो समय बढ्दै गएका अवैध गतिविधि नियन्त्रणका निम्ति प्रहरीले यही कात्तिक १८ गतेदेखि ‘अपरेसन सभ्यता’ सुरु गरेको थियो ।

उक्त अपरेसनअन्तर्गत हालसम्म १४० जना र २९३ सवारीसाधनलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झैझगडा, आपसी विवाद, पर्यटकलाई दुर्व्यवहार गर्नेजस्ता अनैतिक तथा अवाञ्छित गतिविधिका कारण लेकसाइड क्षेत्रको पर्यटकीय छविमा आँच र शान्ति सुरक्षामा खलल पुगेको जनगुनासो बढेपछि ‘अपरेसन सम्भयता’ सुरु गरिएको हो । रासस