पश्चिमी वायुको प्रभाव कायमै, चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना


काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना रहेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार आइतबार हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्नेछ।

विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार दिउँसो हिमाली भू–भागसहित कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। अन्य पहाडी तथा तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ। यस्तै, गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा पनि यस्तै मौसमी गतिविधि हुने सम्भावना छ।

कोसी, वाग्मती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

यसैगरी, रातिको समयमा हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने कोसी प्रदेशसहित अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने विभागको भनाइ छ।

राति पनि देशका हिमाली क्षेत्र तथा कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।