काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरिमोहन भण्डारीले प्रधानमन्त्री बालेन नेतृत्वको सरकार देशको एक मात्र आशा र भरोसा भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता भण्डारीले वर्तमान सरकार सफल भए मुलुक नै असफल हुने दाबी गरेका हुन् ।
कार्यक्रममा बोल्दै भण्डारीले प्रधानमन्त्री बालेनले भ्रष्टाचार नगर्ने जिकिर गर्दै सुशासन कायम हुने विश्वास व्यक्त गरे । रास्वपाका नेता तथा कार्यकर्ताहरू पुराना दलका कार्यकर्ताजस्तो अन्धभक्त नहुने उनको भनाइ थियो । ‘बालेन र रविले गल्ती गरे पनि हामीले छोड्नेवाला छैनौँ,’ उनले भने, ‘पुराना दलका कार्यकर्ताजस्तो हामी हाइ–हाइ देउवा, ओली र हाइ–हाइ प्रचण्ड भनेर बस्नेवाला छैनौँ ।’
वर्तमान सरकारले कर्मचारी प्रशासनमा सुधारको थालनी गरेको दाबी गर्दै नेता भण्डारीले अहिले कर्मचारीको सरुवा उत्कृष्ट ढंगले गरिएको र कर्मचारीहरूमा कुनै डरत्रास नरहेको बताए । ‘गलत कुरा रास्वपा सरकारले गर्दैन, गल्ती गर्ने कसैलाई पनि बालेन सरकारले छाड्दैन,’ भण्डारीले थपे, ‘रास्वपा देश बनाउन हिँडेको हो । पर्यटन, जलस्रोत र कृषिमा सम्भाव्यता भएको देश अब विकासमा अगाडि बढ्नुपर्छ ।’
यसैगरी, प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमणबारे टिप्पणी गर्दै भण्डारीले विगतका प्रधानमन्त्रीहरूको जस्तो भड्किलो भ्रमण नहुने स्पष्ट पारे । प्रधानमन्त्रीले भारत जानुअघि सम्बन्धित क्षेत्रका विज्ञहरूसँग पर्याप्त सल्लाह लिने र भ्रमणमा ‘जम्बो टोली’ नलैजाने उनले जानकारी दिए ।




प्रतिक्रिया