मधेस यात्रामा ऋषि धमलाको क्रेज : बच्चादेखि वृद्धसम्म सेल्फी खिच्न आतुर, जहाँ पुग्छन् त्यहीँ देखिन्छ भीड


काठमाडौ  । छठ पर्वको रौनकसँगै यतिबेला मधेसका विभिन्न जिल्लामा एउटा दृश्य निकै रोचक देखिएको छ। त्यो हो– वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलासँग सेल्फी खिच्नेहरूको भीड। उनी जहाँ पुग्छन्, त्यहाँ बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासम्म उनीसँग तस्बिर खिचाउन र भेटघाट गर्न उत्साहित देखिन्छन्।

छठ पर्वको अवसर पारेर मधेसका जिल्लाहरूको यात्रामा निस्किएका धमलालाई स्थानीयले आत्मीयताका साथ स्वागत गर्ने गरेका छन्। कतै युवाहरू सेल्फी लिन झुम्मिन्छन् त कतै वृद्धवृद्धा उनीसँग आफ्ना दुःख, पीडा र समस्या सुनाउन अघि सर्छन्। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको यस्तो उत्साहले उनको मधेस यात्रालाई थप चर्चित बनाएको छ।

धमलाको यो यात्रा केवल धार्मिक पर्वको शुभकामना आदानप्रदान र औपचारिक भेटघाटमा मात्र सीमित छैन। उनले मधेसका नागरिकका वास्तविक समस्या, आवश्यकता र अपेक्षा बुझ्ने उद्देश्यसहित विभिन्न स्थानमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

स्वतन्त्र नागरिक अभियान नेपालका संयोजकसमेत रहेका धमलाले यात्राका क्रममा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार, सीमा क्षेत्र र सुशासनसँग जोडिएका विषयमा चासो व्यक्त गर्दै आएका छन्। नागरिकका गुनासा सुन्ने र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उनको प्रयास यात्राका क्रममा देखिएको छ।

सनिवार वीरगञ्ज पुगेर उनले श्रीसिया नदी किनारमा छठ पर्वको तयारी, श्रद्धालु भक्तजनको सुरक्षा तथा व्यवस्थापनको अवस्थाबारे स्थलगत अनुगमन गरेका थिए। छठ पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक तयारी गर्नुपर्नेमा उनले जोड दिएका थिए।

त्यस्तै, वीरगञ्जस्थित मुख्य भन्सार तथा सानो भन्सार क्षेत्रको समेत अनुगमन गर्दै छठ पर्वका लागि आवश्यक पूजासामग्री सहज रूपमा भित्र्याउने व्यवस्था गर्नुपर्ने विषय उठाएका थिए। छठमा प्रयोग हुने सामग्री निःशुल्क ल्याउन पाउने तथा १० हजार रुपैयाँभन्दा कम मूल्यका सामग्रीमा भन्सार छुटको व्यवस्था गर्नुपर्ने उनको माग थियो। यस विषयमा भौतिक विकासमन्त्री सुनिल लम्सालसँग पहल र समन्वय गरेर समस्या समाधानका लागि प्रयास गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका थिए।

यसअघि सनिवार नै मकवानपुरको भीमफेदीमा भएको हाइस दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका सर्लाहीको सुन्दरपुरका अवधेश यादवको घरमा पुगेर पनि धमलाले शोकसन्तप्त परिवारलाई भेटेका थिए।

 उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारलाई समवेदना प्रकट गरेका थिए। दुर्घटनामा हराएको गरगहना र एक लाख रुपैयाँ नगदबारे जानकारी पाएपछि उनले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी खोजीका लागि पहल गर्न अनुरोधसमेत गरेका थिए।

यसरी धार्मिक पर्वको अवसरमा नागरिकसँगको भेटघाटलाई सामाजिक सरोकार र जनताका समस्यासँग जोड्दै धमला मधेसका विभिन्न जिल्लामा सक्रिय देखिएका छन्।

सेल्फीको भीड र नागरिकका गुनासा

धमलासँग सेल्फी खिच्न खोज्नेहरूको भीडले उनको यात्रामा एउटा छुट्टै आकर्षण थपेको छ। कतिपयका लागि उनी टेलिभिजनमा देखिने परिचित पत्रकार हुन् भने कतिपयका लागि आफ्ना कुरा सुनाउन सकिने सार्वजनिक व्यक्तित्व। त्यसैले उनीसँग तस्बिर खिच्ने उत्साहसँगै आफ्ना समस्या सुनाउनेहरूको पनि कमी देखिँदैन।

मधेसको संस्कृति, परम्परा, धार्मिक आस्था र सामाजिक यथार्थलाई नजिकबाट बुझ्ने उद्देश्यसहित अघि बढेको उनको यात्राले जनस्तरमा संवादको अवसर सिर्जना गरेको छ।

छठ पर्व सूर्य उपासनासँगै आस्था, सहिष्णुता, प्रकृतिप्रतिको सम्मान र सामाजिक सद्भावको प्रतीक हो। यही पर्वको अवसरमा मधेसका नागरिकसँग प्रत्यक्ष जोडिने प्रयास गरिरहेका धमलाको यात्रामा देखिएको जनसहभागिता र आत्मीयताले अहिले चर्चा पाएको देखिन्छ ।