काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै यस वर्षको छठ पर्व विधिपूर्वक सम्पन्न भएको छ । महोत्तरीसहित तराई–मधेसका विभिन्न जिल्लामा सोमबार बिहान सूर्योदयसँगै व्रतालुहरूले सूर्यदेवलाई अर्घ्य दिएर पर्वको समापन गरेका हुन् ।
गत शनिबारदेखि निराहार व्रत बसेका श्रद्धालुले कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै आफ्नो व्रत पूरा गरेका हुन् । यसअघि आइतबार साँझ षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिइएको थियो ।
पर्व सम्पन्न भएपछि व्रतालुहरू छठ घाटबाट घर फर्किएका छन् । घर पुगेपछि दीनदुःखी तथा असहायलाई अन्न र वस्त्र दान गर्ने तथा प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।
चार दिनसम्म मनाइने छठ पर्व कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ । यस दिन व्रतालुले पवित्र स्नान गरी शुद्ध भोजन गरेर व्रतको सङ्कल्प गर्छन् । पञ्चमी तिथिमा राति एक छाक अलिनो भोजन गरी ‘खरना’ विधि सम्पन्न गरिन्छ ।
षष्ठी तिथिको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ भने सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गर्ने विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने गरिन्छ ।
छठ पर्वमा सूर्यदेवलाई चढाइएका ठकुवा, भुसुवा, केरा, अन्य फलफूल तथा माटोका भाँडामा जमाइएको दहीलाई प्रसादका रूपमा ग्रहण गर्ने र आफन्तजनलाई बाँड्ने चलन छ ।
मिथिला क्षेत्रमा छठको प्रसाद बाँड्ने र खाने परम्परा पर्व सकिएपछि पनि लामो समयसम्म चल्ने गर्दछ । विशेषगरी छोरीचेली, फुपू, मित तथा अन्य इष्टमित्रका घरमा प्रसादको ‘भार’ (सोली) पठाउने मैथिल समुदायको मौलिक परम्परा छ ।




प्रतिक्रिया