खुश्वु ओलीको नेतृत्वमा राप्रपाको मधेस यात्राः के छ एजेन्डा ?


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दोस्रो पुस्ताका युवा नेताहरूको एक टोली चार दिने ‘तराई-मधेस यात्रा’ मा निस्कने भएको छ । पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीको नेतृत्वमा मंसिर १ देखि ४ गतेसम्म मधेस प्रदेशका आठै जिल्लामा संवाद तथा अन्तरक्रिया कार्यक्रम तय गरिएको हो ।

केन्द्रीय सदस्य तथा आईटी विभाग प्रमुख उद्धवराज भेटुवाल, प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री मोहन यादव, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, सहायक प्रवक्ता पूर्ण चन्द, किसान संगठनका प्रेम फुयाललगायतका युवा नेताहरू सम्मिलित टोलीले तल्लो तहका नेता-कार्यकर्तासँग प्रत्यक्ष साक्षात्कार गर्नेछ ।

यसअघि पार्टीका अग्रज नेताहरूले गरेको मधेस भ्रमणका क्रममा स्थानीय तहमा केही ‘भ्रम’ सिर्जना भएको भन्दै त्यसलाई चिर्नु यो यात्राको मुख्य ध्येय रहेको सहभागी नेताहरूले बताएका छन् । त्यसका साथै, बदलिँदो राष्ट्रिय राजनीतिमा राप्रपाको भूमिका, पार्टीको वैचारिक धार, नीति र सिद्धान्तबारे मधेसका कार्यकर्तामाझ स्पष्ट पारिने जनाइएको छ ।

सार्वजनिक कार्यतालिकाअनुसार टोलीले मंसिर १ गते सप्तरी र सिराहा, २ गते धनुषा र महोत्तरी, ३ गते सर्लाही र रौतहट तथा यात्राको अन्तिम दिन मंसिर ४ गते बारा र पर्सामा कार्यक्रम गर्नेछ । मधेसमा पार्टीको संगठन सुदृढीकरण र युवा पङ्क्तिलाई सक्रिय बनाउने रणनीतिका साथ यो दौडाहालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।