जनकपुरधाम । कार्तिक शुक्ल सप्तमीको बिहानीपख जनकपुरधामस्थित ऐतिहासिक गङ्गासागर पोखरीको डिल छठका ब्रतालु र दर्शनार्थीको घुइँचोले खचाखच थियो । झिलिमिली बत्ती र छठी मैयाका पारम्परिक गीतले गुञ्जायमान घाटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल उदाउँदो सूर्यलाई अर्घ्य दिन तल्लीन देखिन्थे ।
उपमहानगरपालिका–२, शिवचोकस्थित स्थानीय नरेश साहको घरमा बास बसेका लामिछाने दम्पती सोमबार बिहानै टाउकोमा छठको पूजा सामग्री (ढाकी) बोकेर गङ्गासागरघाट पुगेका थिए । अघिल्लो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका उनीहरूले बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चारदिने छठ अनुष्ठान पूरा गरे । छठ घाटमा उनीहरूसँगै रास्वपाका शुभेच्छुकहरूको बाक्लो उपस्थिति थियो ।
तराई-मधेशको सबैभन्दा ठूलो सांस्कृतिक पर्व छठ मनाउन शनिबार जनकपुरधाम झरेका लामिछानेको तीनदिने बसाइ धार्मिक अनुष्ठानमा मात्र सीमित रहेन । मधेशको जनजीवन, संस्कार र राजनीतिसँग निकट हुने रणनीतिअन्तर्गत उनले स्थानीय सर्वसाधारणको घरमा आतिथ्य स्वीकार गरे ।
जनकपुर बसाइका क्रममा लामिछानेले धार्मिक र राजनीतिक दुवै यात्रालाई सँगसँगै अघि बढाएः
शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेश प्रदेशका पार्टी पदाधिकारी तथा कार्यकर्ताहरूसँग संगठन सुदृढीकरणबारे सामूहिक अन्तर्क्रिया गरे।
आइतबार दिनभर उनले प्रसिद्ध जानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, मटिहानीस्थित लक्ष्मीनारायण मठ र जलेश्वरनाथ मन्दिरको दर्शन तथा अवलोकन गरे।
स्थानीय परिवारसँगै बसेर खरना र छठको विधिमा सहभागी हुँदै उनले मधेशको सांस्कृतिक मनोविज्ञान बुझ्ने प्रयास गरे।
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ भने लामिछाने दम्पती पनि मधेशको सांस्कृतिक र राजनीतिक सन्देश बोकेर काठमाडौं फर्किएका छन्। छठ मनाउन मधेशको आस्थाको केन्द्र मिथिला नगरी पुगेका लामिछानेको यो उपस्थितिलाई मधेशीको मन जित्ने कसरतका रूपमा हेरिएको छ ।




प्रतिक्रिया