रास्वपा सांसदको अनौठो घोषणा: बालेन-रविसँग आफ्नो फोटो पोस्ट गर्नेलाई पुरस्कार दिने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालले प्रधानमन्त्री बालेन्द्र शाह, पार्टी सभापति रवि लामिछानेसहितका नेतासँग निर्वाचनका क्रममा खिचिएका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्नेहरूलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् ।

गेलालको सचिवालयले फेसबुक पेजमार्फत एक सूचना जारी गर्दै आगामी फागुन १२ गते विशेष फोटो तथा भिडियो प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा प्रधानमन्त्री शाह,पार्टी सभापति रवि लामिछाने, सांसद गेलाल र उदयपुर २ बाट निर्वाचित सांसद सूर्य लामासँगका अविस्मरणीय क्षण क्यामेरा वा मोबाइलमा कैद गरेका व्यक्तिलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरिएको छ । गेलाल उदयपुर १ बाट रास्वपा सांसद निर्वाचित भएका थिए ।

सूचनाअनुसार उत्कृष्ट फोटो तथा भिडियो पठाउने प्रतियोगीमध्येबाट तीन जनालाई नगद पुरस्कार प्रदान गरिनेछ । तर, सहभागी हुन निर्वाचनका क्रममा खिचिएका उत्कृष्ट फोटो वा भिडियो पठाउनुपर्ने, ती सामग्री आफ्ना सामाजिक सञ्जालमा समेत पोस्ट गर्नुपर्ने र सिर्जनात्मकता प्रदर्शन गर्नुपर्ने सर्त राखिएको छ ।

सांसद गेलालको पुरस्कारको रकम भने सार्वजनिक गरिएको छैन । पुरस्कार राशिबारे छिट्टै भिडियो सन्देशमार्फत जानकारी गराइने सचिवालयले जनाएको छ ।

प्रतियोगिताकाे याे घोषणाले भने सामाजिक सञ्जालमा चर्चा र आलोचना दुवै निम्त्याएको छ । केहीले यसलाई प्रचारका लागि गरिएको असामान्य प्रयास भन्दै व्यंग्य गरेका छन् भने कतिपयले सांसदले यस्तो प्रतियोगिता घोषणा गर्नुको औचित्यमाथि प्रश्न उठाएका छन् ।

यसअघि ‘मेयरलाई सरुवा गर्नुपर्छ’ भन्ने आशयको फोन संवाद सार्वजनिक भएपछि पनि गेलाल सामाजिक सञ्जालमा चर्चामा आएका थिए । उक्त संवादलाई लिएर उनी ट्रोलको पात्र बनेका थिए ।

यस्ताे छ उनकाे सचिवालयले फेसबुकमा जारी गरेकाे सूचना :

फोटो तथा भिडियो प्रतियोगिता – अब खिच्ने मात्र होइन, नगद पुरस्कार पनि जित्ने !

आगामी फागुन १२ गते विशेष फोटो तथा भिडियो प्रतियोगिता आयोजना हुँदैछ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का क्रममा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू, आदरणीय पार्टी सभापति रवि लामिछानेज्यू तथा माननीय पारश मणि गेलाल र माननीय सूर्य लामाज्यूसँग सँगै रहेका उत्कृष्ट र अविस्मरणीय क्षणहरूलाई आफ्नो क्यामेरा वा मोबाइलमा कैद गर्नुभएको छ ?

त्यसो हो भने अब आफ्नो प्रतिभा देखाउने र आकर्षक नगद पुरस्कार जित्ने अवसर नगुमाउनुहोस् !

🏆 उत्कृष्ट फोटो तथा भिडियो पठाउने प्रतियोगीमध्येबाट उत्कृष्ट ३ जना विजेतालाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ ।

📱 तपाईंले गर्नुपर्ने काम:

– निर्वाचनका क्रममा खिचिएका उत्कृष्ट फोटो वा भिडियो पठाउने ।

– आफ्नो सामाजिक सञ्जालमा समेत पोस्ट गर्ने ।

– आफ्नो सिर्जनात्मकता र प्रतिभा प्रदर्शन गर्ने ।

💰 पुरस्कार राशिबारे जानकारी छिट्टै भिडियो सन्देशमार्फत सार्वजनिक गरिनेछ ।

त्यसैले तयार रहनुहोस् है !

अब खिच्ने मात्र होइन, आफ्नो प्रतिभाबाट नगद पुरस्कार जित्ने पनि हो !

क्यामेरा / मोबाईलले खिचिएका उत्कृष्ट क्षण कैद गर्नु भएको छ भने विजेता बन्ने तयारी गर्नुहोस् ! 🎬🏆

थप जानकारी छिट्टै भिडियो सन्देशमार्फत सार्वजनिक गरिनेछ ।