ओलीकाे कटाक्ष- ‘हामीले नेपाली भाषा बुझ्न छोड्यौँ कि अदालतले बुझ्न छोड्यो’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनसम्बन्धी मुद्दाको फैसला हुन नसकेको भन्दै सर्वोच्च अदालतप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचनअघि नै फैसला हुनुपर्ने मुद्दा अझै विचाराधीन रहनु न्यायमा ढिलाइ भएको बताएका हुन् ।

उनले समयमै न्याय नपाउनु र ढिलो गरी न्याय पाउनु उस्तै भएको टिप्पणी गरे । फागुनमा निर्वाचन सम्पन्न भइसक्दा पनि संसद् विघटनसम्बन्धी मुद्दाको फैसला नआएको भन्दै उनले अदालतको कार्यशैलीमाथि प्रश्न उठाए ।

‘अघिपछि हतारिएर फैसला हुन्छ। त्यसमा अहिले पनि फैसला भएको छैन। फागुनमा चुनाव भइसक्यो, मुद्दा अहिले पनि फैसला भएको छैन,’ ओलीले भने, ‘निर्वाचनअगाडि फैसला हुनुपर्थ्यो। सर्वोच्च अदालत मुद्दा टेबलमा राखेरै बसिराख्यो, फैसला भएन।’

यद्यपि सर्वोच्च अदालतले जे फैसला गरे पनि त्यसलाई मान्नुपर्ने ओलीले बताए ।

यसअघि आफूहरूलाई सरकारमा जान नदिन गत वर्ष असंवैधानिक ढङ्गले सरकार परिवर्तन गरिएको र अधिकारविहीन व्यक्तिहरूको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको ओलीको आरोप थियो । प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित अदालत पुगे पनि मुद्दाको टुङ्गो नलागेको उनले बताए ।

अदालतको फैसलाबारे टिप्पणी गर्दा अपमान गरेको आरोप लाग्ने गरेको उल्लेख गर्दै ओलीले आफूहरूले बोल्नसमेत कठिनाइ महसुस गर्न थालेको बताए ।

‘हामीले नेपाली भाषा बुझ्न छोड्यौँ कि अदालतले बुझ्न छोड्यो,’ उनले भने ।