नुवाकोटका बाढीपीडितले कब्जा गरे प्राधिकरणको जग्गा


नुवाकोट । बाढीपीडितहरूको धैर्यको बाँध अन्ततः टुटेको छ। स्थानीयदेखि केन्द्र सरकारसम्मको उदासीनताबाट आजित भएका विदुर नगरपालिका–१ का १५० जनाभन्दा बढी विस्थापितहरूले विदुर–९ स्थित नेपाल विद्युत प्राधिकरणको खाली जग्गा कब्जा गरी आफैँ अस्थायी बस्ती बसाल्न सुरु गरेका छन्।

झाडी फाँडेर जेसीबीको सहायताले जमिन सम्याउँदै विभिन्न संघसंस्थाले दिएका टेन्ट टाँगेर उनीहरू ओत लाग्ने प्रयासमा जुटेका छन्। मंसिरको सिरेटो र बढ्दो चिसोमा भुइँमै टेन्ट गाडेर बस्नु उनीहरूको रहर होइन, बरु राज्यको उपेक्षाविरुद्धको बाध्यकारी कदम हो।

विदुर–१ मा मात्रै उक्त बाढीले १६२ वटा घर बगाएको थियो भने ९२ जनाको मानवीय क्षति भएको थियो । तीन महिनासम्म राज्यको ढोका ढकढक्याउँदा पनि सुनुवाइ नभएपछि विस्थापितहरू यो विकल्पमा पुगेको बताउँछन् ।