काठमाडौं । लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक निजामती कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ ।
मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै पशु विकास अधिकृत डा. सरोज खतिवडालाई ३० दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
मन्त्रालयका अनुसार खतिवडा बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा लगातार ९० दिनभन्दा बढी समयदेखि अनुपस्थित रहेका छन् । त्यस्तै, वैदेशिक अध्ययन पूरा गरेपछि पनि निर्धारित समयभित्र सम्बन्धित कार्यालयमा हाजिर नभएको पाइएको मन्त्रालयले जनाएको छ ।
यसअघि मन्त्रालयले निजामती सेवा नियमावली, २०५० को नियम ११० अनुसार १५ दिनभित्र आफ्नो अनुपस्थितिबारे सफाइ पेस गर्न अवसर दिएको थियो । तर, उक्त अवधिमा खतिवडाबाट कुनै जवाफ प्राप्त नभएको मन्त्रालयको सूचनामा उल्लेख छ ।
तोकिएको समयभित्र सफाइ नआएपछि मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६७ बमोजिम कारबाही किन नगर्ने भन्दै ३० दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।





प्रतिक्रिया