किर्ते हस्ताक्षर गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ


सर्लाही । गाउँसभा बैठकमा किर्ते हस्ताक्षर प्रयोग गरी बजेट पारित गराएको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन राय पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मंगलबार साँझ मानपुर बजारबाट घर फर्किने क्रममा रायलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलका अनुसार किर्ते हस्ताक्षर गरी गाउँसभा पारित गराएको आरोपमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि उनलाई पक्राउ गरिएको हो ।

रायमाथि आर्थिक वर्ष २०८०/८१ को गाउँसभा बैठकमा वडा नम्बर २ बाट निर्वाचित वडा सदस्य सुनैना सहनीको हस्ताक्षर नक्कली बनाएर बजेट पारित गराएको आरोप छ ।

यस विषयलाई लिएर गाउँपालिकाकी उपाध्यक्ष पक्षले अध्यक्ष रायविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्दाको अनुसन्धान तथा कानुनी प्रक्रियाका क्रममा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।