सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ सैनिक चोक नजिकैको पोखरीमा एक सातादेखि बेपत्ता पुरुषको शव फेला परेको छ । मृतक गोलबजार नगरपालिका–३ भाङबारीका ४५ वर्षीय महेन्द्र चमार रहेको प्रहरीले जनाएको छ ।
बुधबार पोखरीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी निरीक्षक दीपक खरेलको नेतृत्वमा पुगेको टोलीले शव बाहिर निकालेको हो ।
परिवारका अनुसार चमार भाइटीकाको भोलिपल्टदेखि सम्पर्कविहीन थिए । मजदुरीका सिलसिलामा अन्यत्र गएको हुन सक्ने ठानेर परिवारले प्रहरीमा हराएको उजुरी दिएका थिएनन् ।
प्रहरीले शवको अवस्था हेर्दा करिब एक साताअघि नै पोखरीमा रहेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ । मृत्युको कारण भने खुल्न सकेको छैन ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।




प्रतिक्रिया