३ मंसिर, काठमाडौं । देशभर पश्चिमी वायु र बंगालको खाडीमा विकसित ‘अकवान’ चक्रवातको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका केही हिमाली क्षेत्रमा आंशिक बदली हुनुका साथै तराई, उपत्यका र खोँचका अधिकांश स्थानमा तुवाँलो तथा हुस्सु लागेको छ।
महाशाखाका अनुसार कोशी प्रदेशसहित गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ। अन्य क्षेत्रमा भने मौसमको अवस्था सामान्य रहेको छ।
आज दिउँसो कोशी र मधेश प्रदेशका साथै बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
महाशाखाले तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
यसैबीच, बंगालको खाडीमा विकसित ‘अकवान’ चक्रवातका कारण नेपालमा तत्काल ठूलो तथा निरन्तर वर्षा हुने सम्भावना नरहेको मौसमविद्हरूले बताएका छन्। यद्यपि चक्रवातको गति र दिशा परिवर्तन हुन सक्ने भएकाले त्यसको निरन्तर विश्लेषण गरी मौसमसम्बन्धी थप विवरण सार्वजनिक गरिने महाशाखाले जनाएको छ।




प्रतिक्रिया