चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे



चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ ।

दुर्लभ वन्यजन्तु पाटेबाघ, एकसिंगे गैँडा, घडियाल गोहीलगायत जनावार हेर्ने मोहसँगै पर्यटकको संख्या पनि बढ्दै गएको हो । पछिल्लो समय वैदेशिक रोजगारीमा रहेका नेपाली फर्कने र घुम्ने प्रचलन बढ्दै जानु, विदेशी पर्यटकको आकर्षण बढ्नुले पनि पर्यटकको संख्या बढेको हो ।

गत वर्षको चार महिनाको तुलनामा यस वर्ष १६ हजार २१२ जना पर्यटक बढेका छन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार चालु आर्थिक वर्षको साउनयता ८४ हजार ५४ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।

जसमध्ये नेपाली ४५ हजार ३६८, सार्क मुलुकका तीन हजार ७८७ जना र तेस्रो मुलुकका ३४ हजार ८९९ जना पर्यटकले निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनको भ्रमण गरेका छन् ।

गत आर्थिक वर्षको सोही समयमा निकुञ्ज भ्रमण गर्न आउने पर्यटकको संख्या ६७ हजार ८४२ रहेको थियो ।

सो अवधिमा नेपाली ३९ हजार ७०४ जना, सार्क मुलुकका तीन हजार ३५२ जना र तेस्रो मुलुकका २४ हजार ७८६ जना रहेको तिवारीले बताए । गत आर्थिक वर्ष भरमा दुई लाख ७२ हजार ९२३ जनाले निकुञ्ज भ्रमण गरेका थिए ।

निकुञ्जले यस आर्थिक वर्षको चार महिनामा १० करोड ६ लाख चार हजार ३०६ राजस्व संकलन गरेको छ । विभिन्न शीर्षकमा राजस्व संकलन भएको हो । जसमध्ये सबैभन्दा बढी पर्यापर्याटनबाट प्राप्त राजस्व नौ करोड ७३ लाख १६ हजार ५०० रहेको छ ।

यस्तै  काठ र दाउरा बिक्रीबापत २८ हजार ६५५, गैरकाष्ठ वन पैदावार बिक्रीबापत १८ लाख १३ हजार १८१, दण्ड सजायबाट प्राप्त राजस्व दुई लाख १३ हजार ३०० र अन्य शीर्षकबाट प्राप्त राजस्व (बेरुजुसमेत) १२ लाख ३२ हजार ७०० संकलन भएको उनले जानकारी दिए । गत आर्थिक वर्षमा ३१ करोड एक लाख ६४ हजार ५५१ राजस्व जम्मा भएको थियो । रासस