काठमाडौँ, ३ मङ्सिर । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी) का कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी लक्ष्य कार्यान्वयनका लागि आगामी दुई वर्ष निर्णायक हुने बताएका छन् ।
कोप–३१ अन्तर्गत बुधबार दोस्रो विश्वव्यापी जलवायु समीक्षा (ग्लोबल स्टकटक) प्रक्रिया शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोप–३३ सम्म महत्वाकाङ्क्षी नतिजा हासिल गर्न राजनीतिक सहमति, अन्तरराष्ट्रिय सहयोग र व्यावहारिक कार्यान्वयनमा जोड दिएको युएनएफसिसिसीको सचिवालयले जनाएको छ ।
उनले पहिलो विश्वव्यापी समीक्षामा सहमति भएका लक्ष्य कार्यान्वयनलाई तीव्रता दिन, वैज्ञानिक प्रमाण तथा तथ्याङ्क सङ्कलन गर्न र सबै सरोकारवालाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए ।
पहिलो विश्वव्यापी समीक्षाका निष्कर्षलाई ९० प्रतिशत पक्ष राष्ट्रले आफ्ना राष्ट्रिय जलवायु योजनामा समावेश गरिसकेको उल्लेख गर्दै उनले अब प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।
पहिलो समीक्षामा सन् २०३० सम्म विश्वव्यापी नवीकरणीय ऊर्जा क्षमता तीन गुणा बढाउने, ऊर्जा दक्षता दोब्बर बनाउने तथा जीवाश्म इन्धनबाट न्यायोचित, व्यवस्थित र समतामूलक रूपमा बाहिरिने सहमति भएको उनले स्मरण गराए ।
त्यसैगरी, जलवायु अनुकूलनका योजना कार्यान्वयन गर्ने तथा जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता विकासका लागि सहयोग विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।
दोस्रो विश्वव्यापी समीक्षा प्रभावकारी बनाउन जलवायु विज्ञानका साथै आर्थिक, सामाजिक र विकाससम्बन्धी प्रमाणलाई आधार बनाउनुपर्ने उल्लेख गर्दै उनले लगानी तथा प्रविधिको अवस्था र निजी क्षेत्र, आदिवासी जनजाति, स्थानीय समुदाय तथा नागरिक समाजका अनुभव समेट्नुपर्ने बताए ।
उनले पक्ष राष्ट्र र गैरपक्ष राष्ट्र सबैको सहभागितामा समीक्षा प्रक्रियालाई समावेशी र विश्वव्यापी बनाउन आग्रह गरेको सचिवालयले जनाएको छ । अहिले सुरु भएको सूचना तथा तथ्याङ्क सङ्कलनको गुणस्तरले आगामी वर्ष हुने मूल्याङ्कनको प्रभावकारिता निर्धारण गर्ने उनले बताए । “भूराजनीतिक चुनौती गम्भीर छन्, तर महत्वाकाङ्क्षी नतिजा हासिल गर्न सम्भव छ,” उनले भने ।
जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय प्रयास वार्ताबाट तयार हुने दस्तावेजमा मात्र सीमित नभई मानिसले सास फेर्ने हावा, जीविकोपार्जन र समुदायको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै उनले यस प्रक्रियामा प्रत्येक व्यक्ति र समुदायको महत्वपूर्ण भूमिका रहेको बताए ।




प्रतिक्रिया