स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग, आज ६ राष्ट्रिय दलसँग छलफल गर्दै


४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको तयारी अघि बढाएको छ । निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीका विषयमा आयोगले राजनीतिक दलहरूसँग छलफल तथा परामर्श सुरु गर्न लागेको हो ।

यसैक्रममा आयोगले आज बिहान ११ः३० बजे राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तह निर्वाचनका विषयमा परामर्श गर्न दलका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको जानकारी दिए ।

उनका अनुसार स्थानीय तथा प्रदेश तहको निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा राजनीतिक दलहरूसँग आवश्यक छलफल गरिनेछ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । यी सबै दलका प्रतिनिधिलाई आयोगले छलफलका लागि बोलाएको हो ।

स्थानीय तहका वर्तमान जनप्रतिनिधिहरूको कार्यकाल आगामी वैशाखमा समाप्त हुँदैछ । त्यसलाई मध्यनजर गर्दै आयोगले नयाँ निर्वाचनको मिति निर्धारण तथा निर्वाचनसम्बन्धी तयारीका लागि गृहकार्य थालेको हो ।

आयोगले राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने योजना बनाएको छ ।

निर्वाचनको मिति, सञ्चालन तथा व्यवस्थापन र आवश्यक तयारीका विषयमा दलहरूबाट सुझाव संकलन गरी निर्वाचन प्रक्रिया अघि बढाउने आयोगको तयारी छ ।