वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई भाडा वृद्धि नियन्त्रण गर्न संघ र नाट्टा एकमत


काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले हवाई भाडामा भएको अस्वाभाविक वृद्धिका कारण अतिरिक्त आर्थिक भार बेहोर्नुपरेको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA) र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले समस्या समाधानका लागि पहल गर्ने भएका छन्।

दुवै संस्थाबीच आज भएको छलफलमा हवाई भाडामा भइरहेको अनियन्त्रित वृद्धिलाई नियन्त्रण गरी वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आर्थिक भारबाट जोगाउने विषयमा सहमति भएको हो।

छलफलका क्रममा हवाई भाडा निर्धारण तथा वृद्धि हुनुका कारण, ट्राभल एजेन्सी र एयरलाइन्सहरूको भूमिका तथा यस क्षेत्रमा देखिएका विद्यमान समस्याबारे विस्तृत छलफल भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ।

समस्या समाधानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN), बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ्स इन नेपाल (BARN) तथा नेपाल सरकारका सम्बन्धित मन्त्रालयसँग छलफल र समन्वय गर्न औपचारिक रूपमा पत्राचार गर्ने निर्णय भएको संघले जनाएको छ।

संघका अनुसार यात्रुको चाप बढी हुँदा टिकट वा सिट उपलब्ध नहुनुलाई परिस्थितिजन्य समस्या मान्न सकिए पनि बढी मूल्य तिरेपछि मात्रै टिकट उपलब्ध हुने अवस्था कुनै पनि हिसाबले उचित होइन।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी हवाई भाडा स्थिर र सहज बनाउने विषयमा सरकारले गम्भीरतापूर्वक गृहकार्य गर्नुपर्ने संघको भनाइ छ।

त्यस्तै, मुलुकका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने र सस्तो हवाई सेवा प्रदान गर्ने बजेट एयरलाइन्सहरूलाई नेपालमा आकर्षित गर्ने दिशामा पनि राज्यले ध्यान दिनुपर्ने संघले औँल्याएको छ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई हवाई टिकटको महँगो मूल्यका कारण थप आर्थिक मारमा पर्न नदिन सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको संघका अध्यक्ष डिकबहादुर खत्री (कुमार) ले बताएका छन्।

हवाई भाडामा देखिएको अस्वाभाविक वृद्धि नियन्त्रण गरी श्रमिकलाई अनावश्यक आर्थिक भारबाट जोगाउनु दुवै संस्थाको साझा उद्देश्य रहेको खत्रीकाे भनाइ छ।