प्रविधि भित्र्याउने र लगानी विस्तार गर्ने विषयमा उद्योगमन्त्री साह र जापानी राजदूतबीच छलफल



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।

भेटवार्ताका क्रममा नेपाल र जापानबीचको द्विपक्षीय आर्थिक तथा औद्योगिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ ।

विशेषगरी जापानको उन्नत प्रविधि नेपालमा भित्र्याउने, नेपाली उद्योगको आधुनिकीकरण तथा उत्पादन क्षमता अभिवृद्धि गर्ने र नेपालमा जापानी लगानी विस्तार गर्ने सम्भावनाबारे छलफल केन्द्रित रहेको थियो ।

नेपालमा औद्योगिक विकास, प्रविधि हस्तान्तरण, लगानीमैत्री वातावरण निर्माण तथा रोजगारीका अवसर सिर्जना गर्न जापानसँग सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको छ ।

भेटवार्ताले नेपाल–जापानबीचको आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन तथा नेपालको औद्योगिक विकासमा जापानी प्रविधि र लगानी आकर्षित गर्न सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।