काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह छिमेकी मुलुक भारतको दुईदिने राजकीय भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्दैछन् । कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेपछिको उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई द्विपक्षीय आर्थिक सहकार्य र कूटनीतिक सम्बन्ध विस्तारको महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ ।
नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत आज अपराह्न १ः४५ बजे दिल्ली उड्ने प्रम बालेन भोलि साँझ ६ः३५ बजे स्वदेश फर्किने कार्यतालिका छ । भ्रमणको औपचारिक ३४ सदस्यीय टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका सल्लाहकारहरू, उच्चपदस्थ सरकारी अधिकारी र पत्रकार सहभागी हुनेछन् । यसका साथै निजी क्षेत्रबाट ५२ जना व्यवसायीसमेत आफ्नै खर्चमा भ्रमण दलमा जोडिएका छन्, जसले भ्रमणको आर्थिक आयामलाई थप बलियो बनाएको छ ।
दिल्ली उत्रिएपछि आज साँझ नै प्रधानमन्त्री बालेनसँग भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले भेट गर्नेछन् । भ्रमणको मुख्य राजनीतिक तथा कूटनीतिक भेटघाट भने भालिका लागि तय गरिएको छ । भोलि बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गरेपछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । त्यसलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ ।
द्विपक्षीय वार्ताका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल (कनेक्टिभिटी) र पूर्वाधार विकासमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषय प्राथमिकतामा रहनेछन् । सोही अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल र ऊर्जा सहकार्यअन्तर्गत सम्पन्न भइसकेका केही परियोजनाको संयुक्त उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गरिने कार्यक्रम छ ।
यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संशाधन विकासजस्ता बहुआयामिक क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर तथा आदानप्रदान हुनेछ ।
भ्रमणको अर्को महत्त्वपूर्ण पाटो ‘नेपाल–भारत बिजनेश फोरम’ हो । भारतीय लगानीकर्तालाई नेपाल भित्र्याउने उद्देश्यले आयोजित उक्त फोरममा प्रम बालेनले नेपाल सरकारका लगानीमैत्री नीतिगत दृष्टिकोण र प्रयासहरू प्रस्तुत गर्नेछन् भने भारतीय व्यवसायी समुदायका चासो र सरोकार पनि सुन्नेछन् । निजी क्षेत्रको बाक्लो उपस्थितिसहित हुन लागेको यो संवादले दुई देशका व्यवसायीबीच सहकार्यको बलियो सेतु निर्माण गर्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया