माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु


भद्रपुर (झापा), ६ मङ्सिर । झापाको कमल गाउँपालिका–१ शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय गोपाल राईको मृत्यु भएको छ ।

मार्न लगाएको करेन्ट आफैँलाई लाग्दा राईको शनिवार घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

यसअघि गत भदौमा पनि सोही खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको थियो । मृतक राईको शवपरीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।