नयाँ जातको मकै सिफारिस


चितवन, ६ मङ्सिर । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले यस वर्ष एउटा नयाँ जातको मकै सिफारिस गरेको छ । खुल्ला सिञ्चित जातका रूपमा रहेको मनकामना-८ जातको मकै सिफारिस गरिएको हो । सिड बोर्डले सिफारिस गरेपछि मकै किसानले समेत बीउको रूपमा प्रयोग गर्न पाउने छन् ।

कार्यक्रमका निमित्त प्रमुख भिमनाथ अधिकारीका अनुसार कार्यलयले यस वर्ष खुल्ला सिञ्चित जात सिफारिस गरेको हो । अर्को एउटा हाइब्रिड जात सिफारिसको चरणमा रहेको बताउँदै यसको नाम हाइब्रिड सिएएच-१५११ रहेको उनले जानकारी दिए ।

उनका अनुसार मनकामना-८, मध्य पहाडी क्षेत्रका लागि सिफारिस गरिएको हो । एक हजार ५०० मिटरसम्म लगाउन सकिने र अन्य जातको तुलनामा खडेरी सहन सक्ने भएकाले तराईमा समेत लगाउन सकिने उनले जानकारी दिए ।

तराई क्षेत्रका लागि सिफारिसको क्रममा रहेको सिएएच १५११ जातको मकै एक हजार मिटर उचाइसम्म लगाउन सकिने अधिकारीले बताए । वसन्त ऋतु र हिउँदमा समेत लगाउन सकिने यो मकै चिस्यान बढी भएपनि सहन सक्ने प्रकृतिको छ । कार्यक्रमले अहिलेसम्म हाइब्रिड जातको १० वटा र खुल्ला सिञ्चित जातको ३१ वटा मकैको बीउ सिफारिस गरिसकेको उनले जानकारी दिए ।