काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई सफा गरी काठमाडौंलाई सुरक्षित र बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘काठमाडौं जलवायु कार्य सप्ताह’लाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर ८ का सांसदसमेत रहेका मन्त्री श्रेष्ठले नदी संरक्षण, बाढी नियन्त्रण र सहरी पर्यावरण सुधारका लागि संघीय सरकारका तर्फबाट ठोस कार्ययोजना सार्वजनिक गरिएको जानकारी दिए ।
उनले जथाभावी कंक्रिटका संरचना निर्माण हुँदा खेत, पोखरी र खुला जमिन मासिएको, सहरको तापक्रम बढेको तथा वर्षाको पानी सोस्ने जमिनको अभावमा बाढीको जोखिम बढेको बताए । धुलो र धुवाँका कारण शताब्दीयौँ पुराना मन्दिर तथा सम्पदासमेत प्रभावित भइरहेको उनको भनाइ थियो ।
जलवायु परिवर्तनले जोखिम थप बढाएको उल्लेख गर्दै उनले छोटो अवधिमै विभिन्न नदी करिडोरमा ठूला ढुंगा र गेग्रानसहितको बाढी आउनु, हिमपहिरो जानु र हिमनदी पग्लिनु गम्भीर चेतावनी भएको बताए ।
पछिल्ला चार वर्षमा लोप हुने अवस्थामा पुगेका पुराना ढुंगेधारा (हिटी) र राजकुलो पुनर्जीवित गरी भूमिगत जलभण्डार संरक्षणमा भूमिका खेलेकामा उनले काठमाडौं महानगरपालिका, कार्यवाहक प्रमुख र वडा अध्यक्षहरूको प्रशंसा गरे ।
मन्त्री श्रेष्ठले बाढीको पूर्वसूचना र हिमनदी अनुगमन प्रणाली जडान गर्ने योजना पनि अघि सारिएको जानकारी दिए । बाढी आउनुअघि नै वडा र घरपरिवारसम्म सूचना पुर्याउन जल तथा मौसम विज्ञान विभागमार्फत वर्षा मापन, सहरी बाढी मोडलिङ र पूर्वसूचना प्रणाली विकासमा महानगरपालिका तथा अन्य सहरसँग सहकार्य गरिने उनले बताए ।




प्रतिक्रिया