दुई देशबीचका समझदारीको प्रतिफल जनताले प्रत्यक्ष महसुस गर्न पाउनुपर्छ : प्रधानमन्त्री बालेन


७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीच भएका समझदारी तथा अघि बढाइएका परियोजनाको प्रतिफल दुवै देशका जनताले प्रत्यक्ष रूपमा महसुस गर्न पाउनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाली भाषामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो धारणा राखेका हुन् ।

‘हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ । युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ । विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ,’ उनले भने ।

पुर्खाले स्थापित गरेको ऐतिहासिक सम्बन्धलाई आधार बनाएर आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत नेपाल–भारत सम्बन्धलाई समयको आवश्यकता अनुरूप रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्नेमा पनि उनले जोड दिए ।

यसबाट नयाँ पुस्ताका लागि सम्भावनाका ढोका खोल्ने जिम्मेवारी दुवै देशको रहेको प्रधानमन्त्री शाहको भनाइ थियो ।