काठमाडौँ । नेकपा एमालेका नेता रमेश पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सकारात्मक सम्झौताहरूको स्वागत गर्दै भ्रमणपूर्वको तयारी र कूटनीतिक प्रक्रियामा भने कमजोरी देखिएको टिप्पणी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानमन्त्री शाहले भारत जानुअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भ्रमणबारे औपचारिक जानकारी नगराएको र पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत तथा परराष्ट्रविद्हरूसँग सुझाव संकलन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले प्रधानमन्त्री शाहको विगत र वर्तमान कार्यशैलीमाथि प्रश्न उठाउँदै सीमा तथा नक्साको विषयमा स्पष्टता माग गरे । काठमाडौँ महानगरपालिकाको मेयर हुँदा बालेनले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेको स्मरण गराउँदै प्रधानमन्त्री बनेपछि उक्त नक्सा कहाँ गयो भनी प्रश्न गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीको परराष्ट्र नीति स्पष्ट नभएको आरोप लगाउँदै नेता पौडेलले विगतका प्रधानमन्त्रीहरूको भारत भ्रमणमा पनि आर्थिक र कनेक्टिभिटीका विषयमा सम्झौता हुने गरेको उल्लेख गरे । उनले वर्तमान प्रधानमन्त्रीको भ्रमणमा विगतको भन्दा के नयाँ उपलब्धि भयो भन्नेबारे जनताले जवाफ खोजिरहेको बताए ।
सरकारको आन्तरिक कार्यशैलीप्रति आलोचना गर्दै पौडेलले पत्रकार गिरफ्तार गर्ने र विद्यार्थी संगठन खारेज गर्ने कदम गलत भएको टिप्पणी गरे । साथै, सुकुम्बासी समस्या समाधान नभएको र भोटेकोशी बाढीपीडितहरूको अवस्था दयनीय रहेको उल्लेख गर्दै उनले वर्तमान सरकार गरिब र भुइँमान्छेको आवाज बन्न नसकेको आरोप लगाए ।




प्रतिक्रिया