आजदेखि १०औँ राष्ट्रिय खेलकुद सुरु, औपचारिक उद्घाटन मंसिर १६ गते


८ मंसिर, काठमाडौं । लामो समयको प्रतीक्षापछि कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा आजदेखि सुरु हुँदैछन्। प्रतियोगिताको औपचारिक उद्घाटन भने आगामी मंसिर १६ गते हुने कार्यक्रम छ।

राष्ट्रिय खेलकुद परिषद्को प्राविधिक समितिबाट स्वीकृत खेल तालिकाअनुसार आजदेखि विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन हुन लागेका हुन्। प्रारम्भिक चरणमा पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीलगायतका खेल समावेश छन्।

प्रतियोगितामा कुल ३२ खेल समावेश गरिएका छन्। तीमध्ये २३ खेल कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालन हुनेछन्। सुर्खेतमा एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारत्तोलन, रग्बी, साइक्लिङ, ईस्पोर्ट्स र सेपाकताक्रोका प्रतिस्पर्धा हुनेछन्।

अन्य खेलहरू भने विभिन्न जिल्लामा आयोजना गरिनेछन्। टेनिस र खो खो बर्दियामा, जुडो तथा कुस्ती सल्यानमा, शारीरिक सुगठन पश्चिम रुकुममा, आईटीएफ तेक्वान्दो दैलेखमा र बुद्धिचाल कालिकोटमा सञ्चालन हुनेछन्। पौडी र सुटिङका खेल नेपालगञ्जमा आयोजना गर्ने तयारी छ।

प्रतियोगिताको आयोजनाले कर्णाली प्रदेशका अधिकांश जिल्लामा खेल गतिविधि विस्तार भए पनि हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा भने कुनै पनि खेल समावेश गरिएको छैन। लुम्बिनी प्रदेशका दुई जिल्लामा समेत प्रतियोगिताका खेल सञ्चालन हुनेछन्।

सुर्खेतमा तयारी पूरा, खेलाडी आउने क्रम जारी

राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै वीरेन्द्रनगरमा आवश्यक तयारी पूरा गरिएको आयोजकले जनाएको छ। विभिन्न प्रदेशबाट प्रतियोगितामा सहभागी हुने खेलाडी तथा खेल पदाधिकारीहरू वीरेन्द्रनगर आइपुग्ने क्रम जारी छ।

वीरेन्द्रनगरस्थित रंगशाला सोमबार औपचारिक रूपमा हस्तान्तरण तथा उद्घाटन गरिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले रंगशालाको उद्घाटन गरेका हुन्।

प्रतियोगिताबारे जनचेतना र प्रचारप्रसार बढाउने उद्देश्यले वीरेन्द्रनगरमा सांस्कृतिक झाँकीसहित र्‍यालीसमेत आयोजना गरिएको थियो। र्‍यालीमा मुख्यमन्त्री शाही, मन्त्रीहरू, सांसद, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव रविन चन्द, खेलाडी तथा स्थानीयवासीको सहभागिता थियो।

कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक

लामो समयदेखि प्रतीक्षा गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुन लागेसँगै प्रदेशमा खेलकुदको माहोल बनेको छ। प्रतियोगिताका अधिकांश खेल सुर्खेतमा सञ्चालन हुनेछन् भने मुख्य उद्घाटन र समापन समारोह पनि वीरेन्द्रनगरस्थित रंगशालामै आयोजना गरिनेछ।

निर्धारित कार्यतालिकाअनुसार मंसिर १६ गते प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ भने मंसिर २७ गते समापन गरिनेछ। प्रतियोगिताले कर्णालीको खेल पूर्वाधार, पर्यटन प्रवर्द्धन तथा खेलकुद क्षेत्रको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।