काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले आफ्नो एक साताको भारत भ्रमण उपलब्धिमूलक, फलदायी र ऐतिहासिक भएको बताएका छन्। भ्रमणले नेपाल र भारतबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण आधार तयार गरेको उनको भनाइ छ।
भारत भ्रमण सकेर स्वदेश फर्किएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रमणका उपलब्धि सार्वजनिक गर्दै मन्त्री पौडेलले नेपाल–भारत साझेदारीले सकारात्मक दिशा लिएको उल्लेख गरेका छन्।
भारतीय संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतको निमन्त्रणामा पहिलो ‘एससीओ सिभिलाइजेसनल डाइलग फोरम’ मा सहभागी हुन मन्त्री पौडेल भारत गएका थिए। भ्रमणकै क्रममा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको आयोजनामा ‘नेपाल कलिङ’ नामक विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा भारतीय संस्कृति मन्त्री शेखावत र उत्तराखण्डका पर्यटन मन्त्री सतपाल महाराज सहभागी भएका थिए।
एससीओ फोरममा सहभागी विभिन्न मित्रराष्ट्रका प्रतिनिधिहरूसँग पर्यटन विकास र सांस्कृतिक आदानप्रदानका सम्भावनाबारे विस्तृत छलफल भएको मन्त्री पौडेलले जानकारी दिएका छन्। उनले हिमाली सभ्यता, संस्कृति तथा पर्यावरण संरक्षणमा नेपालले निर्वाह गर्दै आएको भूमिकाका लागि अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाउन आग्रह गरिएको बताए।
‘हिमाल अब नेपालको मात्र नभई समग्र विश्वकै क्लाइमेट हेरिटेज हो भन्ने विषयमा सहभागी राष्ट्रहरूलाई आश्वस्त पार्न सफल भएका छौँ,’ उनले उल्लेख गरेका छन्।
यसैबीच, भारतीय संस्कृति तथा नागरिक उड्डयन मन्त्री किन्जारापु राममोहन नायडूसँग पनि मन्त्री पौडेलले द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटमा नेपाल र भारतबीचको हवाई क्षेत्रका समस्या, सम्भावना तथा आपसी सहकार्यका विषयमा छलफल भएको उनले बताएका छन्।
दुवै देशका प्रधानमन्त्रीबीच हुने उच्चस्तरीय भेटवार्ताअघि नै हवाई उड्डयन क्षेत्रका साझा मुद्दालाई निष्कर्षमा पुर्याउने उद्देश्यले पहल गरिएको उनको भनाइ छ। भारतीय मन्त्री नायडूको युवा ऊर्जा, शालीनता र दूरदर्शी सोचबाट आफू प्रभावित भएको पनि पौडेलले बताएका छन्।
भ्रमणका क्रममा भारतीय संस्कृति मन्त्री शेखावतसँगै १८ पर्व र ६८ वटा लघुचित्र समेटिएको ७२ मिटर लामो दुर्लभ हस्तलिखित महाभारत ग्रन्थको अवलोकन गर्ने अवसर मिलेको उनले जानकारी दिएका छन्।
त्यस्तै, भगवान् गौतम बुद्धका पवित्र अस्थि अवशेषको दर्शन गर्न पाउनुलाई उनले भ्रमणको अविस्मरणीय उपलब्धिका रूपमा उल्लेख गरेका छन्। भारतबाट बेलायत हुँदै हङकङमा लिलामीका लागि पुर्याइएको बुद्धको पवित्र अवशेष स्वदेश फर्काउन भारतीय मन्त्री शेखावतले गरेको पहलको पनि उनले प्रशंसा गरेका छन्।
बालेन–मोदी भेटवार्तालाई ऐतिहासिक अवसरका रूपमा व्याख्या
मन्त्री पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको राजकीय भारत भ्रमणलाई थप स्मरणीय र उपलब्धिमूलक बनाउन आफूले सहकार्य गर्ने अवसर पाएको बताएका छन्।
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको साझा विकास दृष्टिकोण, सहज संवाद र आत्मीय सम्बन्ध उल्लेखनीय रहेको उनको भनाइ छ। दुई देशका शीर्ष नेतृत्वबीचको सुमधुर सम्बन्ध र विकासका साझा प्राथमिकताले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गरेको उनले विश्वास व्यक्त गरेका छन्।
नेपालको लोकतन्त्र स्थापना र भारतको स्वतन्त्रताका लागि विगतमा दुवै देशका पुर्खाले देखाएको ऐतिहासिक एकतालाई अब साझा समृद्धिको साझेदारीमा रूपान्तरण गर्नुपर्ने समय आएको पनि मन्त्री पौडेलले बताएका छन्।
उनले नेपाल र भारतको आर्थिक समृद्धि एकअर्कासँग जोडिएको उल्लेख गर्दै भारतको आर्थिक विकासमा नेपालले पनि रचनात्मक योगदान दिन चाहेको बताएका छन्।
‘भारतको समृद्धि बिना नेपालको एकल र दिगो समृद्धि सहज छैन। त्यसैले हामी भारतको तीव्र आर्थिक प्रगतिमा केवल हिस्सेदारी मात्र खोजिरहेका छैनौँ, बरु त्यसमा रचनात्मक योगदान पुर्याउन पनि चाहन्छौँ,’ मन्त्री पौडेलले लेखेका छन्।




प्रतिक्रिया