काठमाडौं । नेपाली कांग्रेसका सांसद जनकराज गिरीले सुनकोशी–मरिन बहुउद्देश्यीय आयोजना ठेक्का रद्द गरिएको घटनाबारे गम्भीर प्रश्न उठाउँदै राज्यलाई भएको आर्थिक क्षतिको स्पष्ट विवरण सार्वजनिक गर्न माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद गिरीले उक्त प्रकरण वित्तीय अनुशासन उल्लङ्घनसँग जोडिएको विषय भएको बताए। सञ्चारमाध्यममा समेत व्यापक चर्चा भइरहेको यो विषय समितिको प्रत्यक्ष कार्यक्षेत्रभित्र पर्ने उनको भनाइ थियो।
बैठकमा प्रस्तुत गरिएका विवरणहरू पर्याप्त स्पष्ट नभएको उल्लेख गर्दै उनले नीति, नियम र कानुन परिवर्तनलाई आधार बनाएर राष्ट्रिय गौरवका आयोजनाको ठेक्का रद्द गर्ने तथा विकास निर्माणका काम अवरुद्ध पार्ने प्रवृत्ति उचित नभएको टिप्पणी गरे।
सांसद गिरीले तराईका पाँच जिल्लाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको सुनकोशी–मरिन आयोजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए।
प्रधानमन्त्री कार्यालयको संलग्नतामा सिँचाइ विभागका महानिर्देशक र आयोजना प्रमुखलाई प्रहरी नियन्त्रणमा लिइएको घटनापछि ठेक्का रद्द हुनुले वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठाएको उनले बताए।
गिरीले भने, “प्रधानमन्त्री कार्यालयले सिँचाइ विभागका महानिर्देशक र आयोजना प्रमुखलाई प्रहरी नियन्त्रणमा लिएर अन्तिममा ठेक्का रद्द हुँदा यसले वित्तीय अनुशासनमा गम्भीर प्रश्न उठाएको छ।”
उनले सार्वजनिक लेखा समितिको प्रमुख जिम्मेवारी नै राज्यको वित्तीय अनुशासन कायम गराउनु भएकाले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए।
“लेखा समितिको काम स्वयंमा वित्तीय अनुशासन कायम गर्ने हो। यो वित्तीय अनुशासन उल्लङ्घन भएको विषय भएकाले हाम्रो गम्भीर चासोको विषय हो,” उनले भने।




प्रतिक्रिया