जेन्सेन हुवाङको पुनर्बहाली र कर्पोरेटभित्रको ‘मोरल हाजार्ड’


अमेरिकी चिप निर्माता एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुवाङको पुनर्बहालीले कर्पोरेट जवाफदेहिता, नैतिकता र ठूला कम्पनीलाई कारबाही गर्ने क्षमतामाथि बहस सुरु गरेको छ । कम्पनीको बोर्डले हुवाङलाई पुनः नेतृत्वमा ल्याउने निर्णय गरेपछि यसले गलत आचरण गर्ने शक्तिशाली व्यक्तिलाई पनि आर्थिक तथा संस्थागत प्रभावका कारण उन्मुक्ति दिन सक्ने जोखिम देखाएको विश्लेषण गरिएको छ ।

सीएनएनका विश्लेषक डेभिड गोल्डम्यानले हुवाङलाई ‘वाकिङ मोरल हाजार्ड’ अर्थात् नैतिक जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । 

उनका अनुसार कुनै व्यक्ति वा कम्पनीलाई उसको गैरजिम्मेवार व्यवहारका बाबजुद पनि संकटबाट जोगाइन्छ भने भविष्यमा उसले अझ बढी जोखिमपूर्ण निर्णय लिन सक्छ । किनकि उसलाई आफूले गल्ती गरे पनि अन्ततः संस्थाले जोगाउने विश्वास हुन्छ ।

एनभिडियाको बोर्डले हुवाङलाई पुनः नेतृत्वमा ल्याउनुको कारण कम्पनीको आर्थिक क्षति र अमेरिकी सरकारको दबाब रहेको विश्लेषण गरिएको छ । हुवाङको राजीनामापछि एनभिडियाको बजार मूल्यमा २८ प्रतिशत गिरावट आएको थियो । कम्पनीको बजार मूल्यमा ठूलो क्षति भएपछि बोर्डले उनलाई पुनः नियुक्त गर्ने निर्णय गरेको थियो ।

२००८ को वित्तीय संकटसँग तुलना

त्यसो त हुवाङको पुनर्बहालीलाई सन् २००८ को अमेरिकी वित्तीय संकटसँग तुलना गरेका छन् । तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले सेप्टेम्बर २४, २००८ मा राष्ट्रका नाममा सम्बोधन गर्दै वित्तीय प्रणालीलाई संकटबाट बचाउन ७०० अर्ब अमेरिकी डलरको राहत कोष प्रस्ताव गरेका थिए ।

त्यतिबेला लेहमन ब्रदर्स टाट पल्टिएको थियो भने अमेरिकी सरकारले एआईजीजस्ता ठूला वित्तीय संस्थालाई उद्धार गरेको थियो । बुस स्वतन्त्र बजारका पक्षधर भए पनि वित्तीय प्रणाली नै धराशायी हुने जोखिम देखिएपछि सरकारी हस्तक्षेप आवश्यक भएको बताएका थिए ।

उनको तर्क थियो, सामान्य अवस्थामा गलत निर्णय गर्ने कम्पनीलाई असफल हुन दिनुपर्छ । तर, असामान्य संकटका बेला समग्र अर्थतन्त्रलाई जोगाउन हस्तक्षेप आवश्यक हुन सक्छ ।

एनभिडियाको बोर्डले पनि यस्तै परिस्थिति सामना गरेको छ । हुवाङलाई हटाइराख्दा कम्पनीको बजार मूल्यमा थप क्षति हुने र एआई उद्योगदेखि अमेरिकी सरकारसम्म त्यसको प्रभाव फैलिन सक्ने जोखिम थियो । त्यसैले बोर्डले कम्पनीको दीर्घकालीन नैतिक सिद्धान्तभन्दा तत्कालको आर्थिक तथा रणनीतिक आवश्यकतालाई प्राथमिकता दिएको देखिन्छ ।

के हो ‘मोरल हाजार्ड’ अर्थात् नैतिक जोखिम ?

‘मोरल हाजार्ड’ अर्थशास्त्रमा प्रयोग हुने अवधारणा हो । कुनै व्यक्ति, संस्था वा कम्पनीले आफूले लिएको जोखिमको पूर्ण परिणाम भोग्न नपर्ने अवस्था सिर्जना भएमा उसले थप जोखिम लिन सक्ने व्यवहारलाई यसले जनाउँछ ।

यो अवधारणा १९औँ शताब्दीमा बीमा क्षेत्रको आलोचनाका क्रममा चर्चामा आएको थियो । बीमा गरिएको व्यक्तिले आफूलाई क्षति भए पनि त्यसको आर्थिक भार बीमा कम्पनीले व्यहोर्ने भएकाले बढी जोखिमपूर्ण व्यवहार गर्न सक्ने आशंका यससँग जोडिएको थियो ।

jensen-huang

पछि अर्थशास्त्री मार्क पाउलीले सन् १९६८ मा स्वास्थ्य बीमाको सन्दर्भमा यस अवधारणालाई व्याख्या गर्दै बीमा भएका मानिसले बढी स्वास्थ्य सेवा लिनु अनैतिक व्यवहार नभई आर्थिक दृष्टिले तर्कसंगत निर्णय पनि हुन सक्ने बताए । त्यसपछि यो अवधारणा बजार र अर्थतन्त्रमा जोखिम लिने व्यवहार बुझ्न व्यापक रूपमा प्रयोग हुन थाल्यो ।

सन् २००८ को वित्तीय संकटमा पनि यही विषय प्रमुख बहस बनेको थियो । आलोचकहरूले ठूला बैंक र वित्तीय संस्थालाई सरकारी रकमबाट उद्धार गर्दा उनीहरूले भविष्यमा पनि अत्यधिक जोखिम लिने र घाटा भए सरकारले बचाउने अपेक्षा गर्ने बताएका थिए ।

एनभिडियाको बोर्डले हुवाङलाई पुनः नियुक्त गर्नु पनि त्यस्तै जोखिमको उदाहरण भएको विश्लेषकको तर्क छ । कम्पनीको आर्थिक क्षति रोक्न नेतृत्वलाई पुनः जिम्मेवारी दिनु तत्कालका लागि उचित देखिए पनि यसले भविष्यमा गलत आचरणलाई प्रोत्साहन गर्न सक्छ ।

शक्तिशाली सीईओलाई हटाउन नसकिने अवस्था

हुवाङमाथि कम्पनीको आचारसंहितासम्बन्धी गम्भीर उल्लंघनको आरोप लागेको छ । प्रमुख ग्राहकसँग सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि उनले प्रेम सम्बन्ध स्वीकार गरेको बताइएको छ । उक्त ग्राहकको चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको आशंका पनि गरिएको छ । साथै, उनी कम्पनीकै एक कर्मचारीसँग सम्बन्धमा रहेको खबर सार्वजनिक भएको उल्लेख छ ।

यी आरोपहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन् । तर, यस्ता सम्बन्धले कम्पनीभित्र शक्ति सन्तुलन, कर्मचारीको स्वायत्तता र व्यावसायिक निर्णयमा प्रभाव पार्न सक्ने भन्दै कर्पोरेट नैतिकतासम्बन्धी प्रश्न उठाइएको छ ।

कुनै वरिष्ठ अधिकारीले मातहत कर्मचारीसँग सम्बन्ध राख्दा कर्मचारीले आफ्नो जागिर जोगाउन सम्बन्ध कायम राख्नुपर्ने दबाब महसुस गर्न सक्ने जोखिम हुन्छ । त्यस्तै, प्रमुख ग्राहकसँग व्यक्तिगत सम्बन्ध हुँदा कम्पनीको व्यावसायिक निर्णय निष्पक्ष नहुन सक्छ ।

यही कारण विभिन्न कम्पनीमा प्रमुख कार्यकारी र कर्मचारी वा ग्राहकबिचको सम्बन्धलाई कडा रूपमा नियमन गरिन्छ । यस्ता विवादले विगतमा अमेरिकन अप्यारेल, बोइङ, इन्टेल, म्याकडोनाल्ड्स र हेवलेट प्याकार्ड (एचपी) जस्ता कम्पनीका नेतृत्वसमेत संकटमा पारेका उदाहरण छन् ।

कोलम्बिया बिजनेस स्कुलका कर्पोरेट गभर्नेन्स प्राध्यापक शिवराम राजगोपालका अनुसार कुनै व्यक्तिलाई हटाउनै नसकिने अवस्था सिर्जना भएमा उसले आवश्यकभन्दा बढी जोखिम लिन सक्छ ।

हुवाङको पुनर्बहालीले एनभिडियाको तत्कालीन आर्थिक तथा रणनीतिक संकट टार्न मद्दत गर्न सक्छ । तर, कम्पनीको आर्थिक प्रभाव, राष्ट्रिय सुरक्षासँग जोडिएको भूमिका र एआई उद्योगमा उसको प्रभुत्वका कारण नेतृत्वलाई जबाफदेही बनाउने क्षमता कमजोर भयो भने यसले अन्य कम्पनीका नेतृत्वलाई पनि गलत व्यवहारबाट उन्मुक्ति पाइने सन्देश दिन सक्ने देखिन्छ ।