राजनीतिक प्रतिशोधको चक्रले लोकतन्त्र कमजोर बनाउँछ : वर्षमान पुन


९ मंसिर, काठमाडौं । नेकपाका नेता वर्षमान पुनले कुनै पनि राजनीतिक दल सधैँ सत्तामा नरहने उल्लेख गर्दै राज्यका निकायलाई राजनीतिक प्रतिशोध साँध्ने माध्यम नबनाउन चेतावनी दिएका छन् ।

रोल्पाको पाछावाङमा आयोजित कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पुनले सत्तामा हुँदा राज्य संयन्त्रको दुरुपयोग गर्ने प्रवृत्तिले भविष्यमा अर्को सरकारबाट पनि प्रतिशोध लिने अवस्था सिर्जना गर्ने बताए । उनका अनुसार यस्तो प्रवृत्तिले राजनीतिक अस्थिरता बढाउनुका साथै लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने र राज्यलाई स्वेच्छाचारी बनाउने जोखिम रहन्छ ।

पुनले प्रहरी, प्रशासन, न्यायालय तथा संवैधानिक निकायलाई राजनीतिक हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त राख्नुपर्नेमा जोड दिए । प्रहरी अनुसन्धान र मुद्दा प्रक्रियामा प्रधानमन्त्री तथा मन्त्रीका सल्लाहकारले हस्तक्षेप गर्ने प्रवृत्तिले राज्यका निकायको निष्पक्षतामाथि प्रश्न उठ्ने उनको भनाइ थियो ।

‘प्रहरीमा उजुरी परेपछि स्वतन्त्र रूपमा अनुसन्धान हुनुपर्छ । प्रधानमन्त्रीका सल्लाहकार वा मन्त्रीका सल्लाहकारले यसलाई मुद्दा चलाऊ, त्यसलाई छानबिन गर भन्ने हो भने निष्पक्षता कहाँ रहन्छ ?’ पुनले प्रश्न गरे ।