काठमाडौं। नेपालमा उत्पादित कुखुरा, बाख्रा, पाठी, खसी तथा बोका भारततर्फ निर्यात भइरहेको भन्दै मासु व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। बजारमा बिक्रीका लागि आवश्यक पशुचौपाया पाउन छाडेपछि मासुको मूल्य अत्यधिक बढ्ने र व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको उनीहरूले बताएका छन्।
बुधबार रिपोर्टस क्लब,नेपालमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै नेपाल मुस्लिम मासु पसल संघका काठमाडौं जिल्ला अध्यक्ष मंजुर मिया मोमीनले नेपालभरिका सीमा नाकामा कडाइ गरी पशुचौपाया भारततर्फ निर्यात हुने क्रम तत्काल रोक्न सरकारसँग आग्रह गरेका छन्।
उनका अनुसार नेपाली बजारमा खपत हुनुपर्ने खसीबोका, बाख्रा, पाठी तथा कुखुरासमेत भारततर्फ जान थालेपछि स्थानीय मासु व्यवसायीहरू प्रत्यक्ष मारमा परेका छन्। आवश्यक सामान नपाउँदा कतिपय पसल बन्द भइसकेको र अन्य व्यवसायीसमेत बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनले बताए।
“पसल बन्द भइसक्यो। अब सामान नपाएपछि के गर्नु त हजुर? हाम्रो नि बन्द गर्नुपर्ने बेला भइसक्यो,” मोमीनले भने।
यसबारेमा जिल्ला प्रहरी परिसरकाे कार्यालय काठमाडौं र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जानकारी गराउँदै निवेदन र ज्ञापनपत्र बुझाइसेको उनले जानकारी दिए ।
उनले सरकारले व्यवसायीहरूको माग तत्काल सम्बोधन नगरे मंसिर १० गतेदेखि मासु पसल नै बन्द गर्ने चेतावनीसमेत दिएका छन्।




प्रतिक्रिया