अब सरकारी सेवाकाे अवकाशपछि तत्काल वकालत गर्न नपाइने, दुई वर्षे ‘कुलिङ अफ पिरियड’ लागु


काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)ले न्यायाधीश, निजामती कर्मचारी, सुरक्षाकर्मी तथा स्थायी शिक्षकलाई सरकारी सेवाबाट अवकाश पाउनेबित्तिकै कानुन व्यवसाय (वकालत)मा संलग्न हुन रोक लगाएको छ।

परिषद्ले सूचना जारी गर्दै सरकारी सेवाबाट निवृत्त भएका व्यक्तिका लागि दुई वर्षको ‘कुलिङ अफ पिरियड’ लागू गर्ने निर्णय गरेको जनाएको छ।

सेवाबाट अवकाश पाउनासाथ कानुन व्यवसायीको प्रमाणपत्र अद्यावधिक गरी वकालतमा संलग्न हुँदा स्वार्थको द्वन्द्व सिर्जना हुन सक्ने र निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको परिषद्ले स्पष्ट पारेको छ।

परिषद्का सचिव श्रीराम खनालद्वारा जारी सूचनाअनुसार गत मंसिर १ गते बसेको परिषद् बैठकले ‘आन्तरिक कार्य व्यवस्था सञ्चालन नियमावली, २०५५’ को नियम १३ संशोधन गर्दै उक्त व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

कुन–कुन क्षेत्रका व्यक्तिलाई लागू हुन्छ व्यवस्था ?

परिषद्को निर्णयअनुसार कानुन व्यवसायीको प्रमाणपत्र पहिल्यै लिइसकेका तर सरकारी सेवामा कार्यरत व्यक्तिहरूले अवकाश प्राप्त गरेको दुई वर्ष पूरा भएपछि मात्रै प्रमाणपत्र अद्यावधिकका लागि निवेदन दिन पाउनेछन्।

यो व्यवस्था निम्न व्यक्तिहरूको हकमा लागू हुनेछ :

१. नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा स्थायी नियुक्ति भई कार्यरत निजामती कर्मचारी।

२. न्यायाधीश तथा न्याय सम्पादनको कार्यमा संलग्न व्यक्तिहरू।

३. नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारी।

४. संघ, प्रदेश र स्थानीय तहबाट पारिश्रमिक प्राप्त गर्ने विद्यालयका स्थायी शिक्षक तथा अन्य कर्मचारी।

सरकारी प्रशासन, न्यायिक निकाय तथा सुरक्षा क्षेत्रमा लामो समय जिम्मेवारी सम्हालेका व्यक्तिहरूले अवकाशलगत्तै अदालतमा बहस पैरवी गर्दा पूर्वसहकर्मी तथा सम्बन्धित निकायमा प्रभाव पर्न सक्ने जोखिम औंल्याउँदै लामो समयदेखि ‘कुलिङ अफ पिरियड’ लागू गर्नुपर्ने माग उठ्दै आएको थियो।