नारायणगढ (चितवन), १० मङ्सिर । चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानबाट प्राप्त प्राविधिक सहयोगमा हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन खेती गरिएको छ ।
प्रतिष्ठानको सहयोगमा सञ्चालित दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा नेपाल र चीनका कृषि विज्ञको सहकार्यमा गरिएको हाइब्रिड धानको प्रदर्शन खेतीमा प्रतिहेक्टर ६.८६ टन उत्पादन भएको जनाइएको छ ।
चिनियाँ धान विशेषज्ञ वाङ छियानले चिनियाँ विशेषज्ञको प्राविधिक सहयोग तथा नेपाल र चीनका कृषि विज्ञको संयुक्त प्रयासमा उत्पादन हासिल भएको जानकारी दिए ।
कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्राध्यापक ऋषिराम कट्टेलले चिनियाँ विशेषज्ञले प्राविधिक ज्ञान र अनुभव आदानप्रदान गर्दै नेपालमा धानको अनुसन्धान तथा परीक्षणमा सहयोग गरेको बताए । आठ सय दिनभन्दा बढी समयको अनुसन्धानपछि उक्त उपलब्धि हासिल भएको हो ।
छोङछिङ कृषि विज्ञान प्रतिष्ठानका उपाध्यक्ष तान पिङले दुवै देशका वैज्ञानिकबीचको सहकार्यबाट सफलता मिलेको बताए ।
सन् २०२३ को जुलाइमा छोङछिङ नगरका कम्युनिष्ट पार्टी सचिव युआन चियाजुनको चितवन भ्रमणका क्रममा ‘भविष्य उज्यालो, जीवन्त गाउँ’ कार्यक्रमअन्तर्गत दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्क परियोजना सुरु गरिएको हो ।
परियोजनाअन्तर्गत धानखेती, भैँसीपालन र सागसब्जी खेतीका तीन वटा कृषि प्रविधि प्रदर्शन केन्द्र स्थापना गरिएको छ । परियोजनाले लगातार दुई वर्ष उत्पादनमा सफलता हासिल गरेको र सहभागी किसानले कतारलगायत मध्यपूर्वका देशमा सागसब्जी निर्यात हुन थालेको छ ।




प्रतिक्रिया