काठमाडौं । नेपाल–भारत संयुक्त सैनिक तालिम ‘अभ्यास–सूर्यकिरण’को २०औँ संस्करण सुरु भएको छ ।
नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास बुधबार (मंसिर ९ गते)बाट रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको हो ।
मध्य पश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले उक्त अभ्यासको शुभारम्भ गरेका हुन् ।
दुवै देशका गणस्तरको फौज सम्मिलित यस अभ्यास २०८३ मंसिर २२ गते सम्पन्न हुने कार्यक्रम रहेको छ । वि.सं. २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको संयुक्त ‘अभ्यास–सूर्यकिरण’को १९औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।
“अभ्यासमा मुख्यतया विपद् व्यवस्थापन, जंगल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरूमा दुई देशका सैनिकहरूले सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवहरूको आदान प्रदान गर्नेछन्,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस किसिमको सैनिक अभ्यासले दुई देशबीच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउने नेपाली सेनाले जनाएको छ । साथै दुवै देशको सेनाका सकलदर्जामा पेशागत ज्ञानको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।





प्रतिक्रिया