विकास मोडलमा लम्साल-धमला संवाद, गड्करी डिसेम्बरमा नेपाल आउने सम्भावना


काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाबीच देशको समसामयिक राजनीति र दीर्घकालीन पूर्वाधार विकासका विषयमा भेटवार्ता भएको छ । भेटका क्रममा आगामी एक दशकभित्र मुलुकलाई कसरी विकसित राष्ट्रका रूपमा अगाडि बढाउने भन्ने विकासको मोडलमाथि छलफल भएको अध्यक्ष धमलाले जानकारी दिएका छन् ।

विशेषगरी सडक सञ्जाल विस्तार, भौतिक पूर्वाधार निर्माण र आगामी वर्षदेखि लागू हुने दीर्घकालीन विकासका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा कुराकानी केन्द्रित रहेको थियो । शहर र गाउँको विकासलाई नयाँ मोडलमा लैजाने सरकारको तयारी रहेको भेटमा मन्त्री लम्सालले बताएका थिए ।

कुराकानीका क्रममा मन्त्री लम्सालले विकासको मोडलमा अब नयाँ ढोका खुलेको दाबी गर्दै आगामी १० वर्षमा नेपाललाई समृद्ध बनाउन सडक तथा पूर्वाधार क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिने बताएका थिए । उनले प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमण सफल रहेको उल्लेख गर्दै यसले द्विपक्षीय विकास तथा पूर्वाधार सहकार्यमा सकारात्मक वातावरण सिर्जना गरेको धारणा राखेको अध्यक्ष धमलाले बताएका छन् ।

यसैबीच, मन्त्री लम्सालको निमन्त्रणामा भारतका केन्द्रीय सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गड्करी नेपाल भ्रमणमा आउने तयारी भइरहेको छ । उनी आगामी डिसेम्बर ८, ९ र १० तारिखभित्र नेपाल आउन सक्ने सम्भावना रहेको बताइएको छ । उक्त भ्रमणमा दुई देशबीचको विकास मोडलका विषयमा छलफल हुनेछ ।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता गड्करी सन् २०१४ मे २६ देखि निरन्तर तीन कार्यकालदेखि भारतको सडक तथा राजमार्ग मन्त्रालयको नेतृत्व गरिरहेका छन् । भारतमा पूर्वाधार क्रान्तिको नेतृत्वकर्ताका रूपमा चिनिने गड्करीको सम्भावित नेपाल भ्रमणलाई दुई देशबीचको सडक सञ्जाल र पूर्वाधार सहकार्यका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।